News Griha :: न्यूजगृह
ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायीहरू आन्दोलित

काठमाडौं— कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । 

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानुन व्यवसायीले आन्दोलन गरेका हुन् । 

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरूप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । आइतबार नै नेपाल बार एसोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । 

सोही अनुसार सोमबार उनीहरूले आन्दोलन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बोल्दै कानुन व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको मुदद झुटो भएकाले मुद्दा अविलम्ब खारेज हुनुपर्ने माग राखे । उनले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरूको तत्काल सरुवा हुनुपर्ने बताए । 

आन्दोलनका क्रममा बोल्दै अर्का कानुन व्यवसायी सीताराम केसीले अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको भन्दै यो मुद्दा सम्पूर्ण कानून व्यवसायीमाथि लागेको मुद्दा रहेको बताए । उनले सीसीटीभी फुटेज कसरी छैन भन्ने बारेमा तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए । 

त्यस्तै, अर्का कानुन व्यवसायी सुनिल पोखरेलले यो मुद्दा कानुन व्यवसायी र कर्मचारीबीचको झगडा नभइ संस्थागत रूपमा कानुन व्यवसायीलाई डिफेम गर्नका लागि सांगठनिक रूपमा लागेको देखिएको बताए । कानुन व्यवसायीलाई बदनाम गरेर न्यायलय र कर्मचारी माथि पुग्न नसक्ने उनको भनाइ छ । 

विरोध प्रर्दशनमा नेपाल बार एसोसिएसन अध्यक्ष गोपालप्रसाद घिमिरेले भ्रष्टाचार गर्ने घुस खोरविरुद्धको अन्दोलन भएकाले घुस नखाने न्यायाधीश र कर्मचारीहरू नडराउन र नआत्तिन आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:४५
Weather Update