News Griha :: न्यूजगृह
आरजुको अडिओ नक्कली भएको अर्थमन्त्री महतको दाबी

काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल गरिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजु राणा देउवासम्बन्धी अडिओ सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर ल्याइएको जिकिर गरे । 

सो अडिओ नक्कली भएको उनको दाबी छ । 

उनले भने ‘अहिले आरजु राणाविरुद्ध मिडिया र सामाजिक सन्जाल ट्रायल भइरहेको छ । आरजुको केसमा उहाँले उक्त अडिओको सत्यतथ्य प्रमाणित होस् भनेर साइबर ब्युरोमा आफैँले उजुरी गर्नुभएको छ । मिडिया र सामाजिक सञ्जाल ट्रायल गरेर अनुसन्धान नै नसकिएको केसमा कसैलाई दोषी हो भनेर भन्न भएन । यस प्रकरणमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले सो प्रकरणको विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको प्रष्ट्याए । 

उनले भने, ‘महामन्त्रीहरूले पनि त्यस बारेमा कुनै फरक मत राख्नु भएको छैन, पार्टी निर्णयप्रति उहाँहरू प्रतिबद्ध रहनु भएको छ ।’

उनले सभापति शेरबहादुर देउवाले यो प्रकरणलाई निष्पक्ष र स्वतन्त्र अनुसन्धानमा सघाउन आग्रह गरेको प्रवक्ता महतको भनाइ छ ।

नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति किन मौन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने ‘उहाँको पहिल्यैदेखि धेरै बोल्ने बानी छैन । तर, उहाँले अनुसन्धानमा सहयोग हुन्छ भनिराख्नुभएको छ । दोषी निर्दोष हुने निर्दोष दोषी हुने कुरा हुन्न । कानुनी प्रक्रिया अनुसार अघि बढ्छ ।’

 

 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १३:५४
Weather Update