News Griha :: न्यूजगृह
शरणार्थी प्रकरणमा नाम मुछिएपछि आरजुले भनिन्– नक्कली मान्छेहरू खडा गरेर अडिओ बनाइयाे, डराउँदिन

काठमाडौं— नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् ।

प्रतितिधि सभाको आइतबारको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट गरिन् ।

उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरू उठाइएको र नक्कली मान्छेहरू खडा गरेर अडिओ बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताइन् ।

उनले आफूले कसैका बारेमा कुनै टिकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीतिक गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रूपमै दुष्प्रचार गरिएको बताइन् ।

‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ । पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाषा मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने, कुनै पनि नारी अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई असैह्य हुने परिस्थिति बनेको छ । तर पनि जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्नँ,’ उनले भनिन् । 

उनले अहिले चर्चामा रहेको शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता त के त्यो प्रकरणका बारेमा थाहासमेत नपाएको बताइन् । साथै उनले आफूविरुद्ध प्रचार गर्ने नेता या जो कसैलाई पनि तथ्यमा आधारित भएर बोल्न पनि आग्रह गरिन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १९:५५
Weather Update