
काठमाडौं— पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेसँगै उनकी पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र मञ्जुले ६ करोड बढी रकम लिएको आरोप लागेको छ । त्यसको अडिओसमेत सार्वजनिक भइसकेको छ ।
यद्यपि आरजुले भने त्यो अडिओ नक्कली भएको दाबी गरेकी छन् । प्रहरीले त्यसबारेमा अनुसन्धान अन्तिम चरणमा पुगाएको छ । यसअघि पक्राउ परेका बिचौलियाले खाणले ४ करोड बढी रकम लिएको बयान दिएका थिए । सोही आधारमा खाण बुधबार बिहान निवासबाटै पक्राउ परेका हुन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री समेत रहेका नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १० जना पक्राउ परिसकेका छन् ।
एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप भने प्रहरी हिरासतमा छन् । प्रहरीले थप ८ जनालाई पक्राउ गर्ने तयारी गरेको स्रोतले बतायो । यो प्रकरणमा तत्कालीन गृहमन्त्री खाण र गृहसचिव पाण्डेको मिलेमतोमा रकम लेनदेन भएको प्रमाणित भएको प्रहरी उच्च स्रोतको दाबी छ । ‘अहिले आरजु राणा र मन्जु खाणमाथि अनुसन्धान चलिरहेको छ । प्रमाणित भयो भने उहाँहरूलाई पनि पक्राउ गर्छौं’, प्रहरी स्रोतले भन्यो ।