
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतृ एवम् प्रतिनिधि सभा सदस्य आरजु राणाको नामसमेत जोडिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान पीडितबाट रकम असुली गर्ने धन्दामा संलग्न रहेको भन्दै प्रहरी हिरासतमा रहेका आरोपितले आरजुलाई पनि रकम बुझाएको प्रहरीसँग बयान दिएको दाबी गर्दै समाचार सम्प्रेसण भइरहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको संलग्नता छ/छैन प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । आरजु र प्रहरी हिरासतमा रहेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जुलाई करोड बढी रकम दिएको दाबी गरिएको अडिओसमेत सार्वजनिक भएको छ । अडिओ सार्वजनिक भएदेखि मञ्जु खाण फरार भएको समाचार सार्वजनकि भइरहेका छन् । मञ्जु पनि प्रतिनिधि सभा सदस्य हुन् ।
तर, आरजु भने बिहीबारसम्म सार्वजनिक कार्यक्रममा समेत सहभागी भएकी थिइन् । बिहीबार मकवानपुरको हेडौँडामा आयोजित एक कार्यक्रममा समेत आरजु सहभागी भएकी थिइन् । बुधबार मात्रै उनले नक्कली शरणार्थी प्रकरणमा रकम लिएको अडिओबारे प्रहरीकोे साइबर ब्युरोमा उजुरीसमेत दिएकी थिइन् ।
आरजुलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले बिहीबार हेटौँडाबाट एक युवकलाई पक्राउ पनि गरेको थियो । बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको महिलाहरूको पहुँच अभिवृद्धि तथा आर्थिक सशक्तीकरणसम्बन्धी आगामी कार्यदिशा तर्जुमा, अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम एवम हेटौँडाको एक निजी सुपर मार्केट उद्घाटनको लागि आरजु हेटौँडा पुगेकी थिइन् ।
तर, राति एकाएक आरजु फरार भएको समाचार सार्वजनिक भयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि आरजुको चौतर्फी आलोचना पनि भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु रातारात भारत हुँदै सिङ्गापुर पुगेको दाबी गरिएका समाचार छरपस्ट छन् । हेटौँडाको कार्यक्रम सकेर आरजु साँझ स्थलमार्ग हुँदै भारतको बिहार–पटनातिर लागेको र पटनाबाट जहाजमा नयाँ दिल्ली पुगेको दाबीसहितका समाचार सार्वजनिक भइरहेका छन् । र, आरजु राति नै सिङ्गापुर गएको उच्च स्रोतलाई हवाला दिँदै समाचार सार्वजनिक भएका छन् ।
भारतको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्यत्र उड्न नेपाली नागरिकलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले एनओसी अर्थात् सहमति पत्र दिनुपर्ने व्यवस्था छ । के उनलाई दूतावासले एनओसी दियो ? यो प्रश्नको जवाफ समाचारमा पाइन्न । तर, जनआस्था डटकमले भने दूतावासका उच्च अधिकारी नै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेर एनओसी दिएको दाबी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेपछि आरजु र मञ्जुमाथि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो ।
बिहीबार दिउँसो कांग्रेस सभापति देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको संयुक्त बैठक बोलाएका थिए । नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ र अन्य नेता आरजु र मञ्जुकोसमेत नाम जोडिएपछि देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका हुन् । खाण पक्राउपछि देउवा दबाबमा छन् । हडबडिएका छन् ।
पति पक्राउपछि मञ्जु उनलाई भेट्न प्रहरी कार्यालयसम्म पुगकी छैनन् । यसैले पनि उनीमाथि थप शंका बढेको हो । पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको छलफलअघि देउवा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । स्रोतका अनुसार उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।
नक्कली शरणार्थी प्रकरणलाई लिएर सबैभन्दा छटपटाहटमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । र, अहिले देउवामा पनि छटपटी बढिरहेको छ । एमाले सचिव (निलम्बित) टोपबहादुर रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ तर, पक्राउ परेका छैनन् । उनीहरूलाई प्रहरीले खोजी गरिरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलसहित विष्णु रिमाल र राजन भट्टराईसम्मको कनेक्सन रहेकोले एमाले अध्यक्ष ओलीमा छटपटाहट देखिएको विश्लेषणात्मक टिप्पणी समामाजिक सञ्जालमा देख्न पाइन्छ ।
उसो भए कहाँ छिन् आरजु ?
निकटस्थ नेताहरूका अनुसार आरजु काठमाडौंमै छिन् । हेटौँडाको कार्यक्रमपछि आरजु काठमाडौं आएकी हुन् । हेटौँडाको कार्यक्रममा सहभाागिताको लागि आरजु जहाजबाट बुधबार सिमरा पुगेकी थिइन् । आरजुसँगै हेटौँडाको कार्यक्रममा कांग्रेस नेता महालक्ष्मी उपाध्याय डिना र लक्ष्मी खतिवडासमेत गएका थिए । उनीहरूले पनि आरजु फरार भएको कुरामा सत्यता नभएको दाबी गरे । ‘कार्यक्रम सकिएपछि उहाँ (आरजुु) काडमाडौं फर्किनुभएको हो,’ उनीहरूले भने ।
के भन्छ प्रहरी ?
प्रहरी पनि आरजु राणा फरार भएको सिङ्गापुर नै पुगेको भन्ने स्थितिमा छैन । ‘आरजु कहाँ हुनुहुन्छ भन्न त हामी कसरी सक्छौँ र उहाँविरुद्ध पक्राउ पुर्जी जारी भएको अवस्था पनि होइन । सार्वजनिक अडिओबारे हामीले चासो राखेको पक्कै हो,’ स्रोतले भन्यो, ‘त्यही अडिओलाई आधार बनाएर उहाँमाथि अनुसन्धान त हुँदैन । आरोपितले बयानमा उहाँको नाम लिएको खण्डमा वा उहाँविरुद्ध प्रमाण फेला पारेको सन्दर्भमा मात्र हामीले अनुसन्धान गर्ने हो ।’