
काठमाडौं— ‘फूलमाया’ लाई लिएर सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीले आफूलाई दुखी बनाएको गायक प्रकाश सपूतले बताएका छन् । तर, आफूमाथि प्रहार हुन्छ यस्ता विषयवस्तु उठाउन नछोड्ने उनको भनाइ छ ।
सञ्जालमा व्यक्त व्यक्तिगत धारणा र चेतमाथि समेत उनले प्रश्न उठाएका छन् ।
कार्यक्रमको सिलसिलामा अमेरिकामा रहेका गायक सपूतले न्यूजगृहसँगको कुराकानीमा गलत नियतले आफूमाथि प्रहार भएको टिप्पणी गरे ।
‘फूलमायामार्फत मैले समाजको चित्रलाई विभिन्न पात्रहरूमार्फत भन्न खोजेको हुँ र त्यसका लागि समाजमै देखिने केही त्यस्ता पात्रहरूलाई कथानक रूपमा भनेको हुँ’, सपूतले भने, ‘तर, कथानकभित्र पात्रको मनोवृत्तिलाई लिएर एउटा सर्जकमाथि यसरी प्रहार हुने कुराले साँच्चै मलाई दुखेको छ ।’
सामाजिक सञ्जाल र मिडियामा चलिरहेको बहसले वास्तवमा आफूलाई ‘निरुत्साहित’ गरेको भान परेको उनले बताए ।
प्रकाश सपूतको पछिल्लो गीत फूलमायालाई लिएर विशेषगरी महिला अधिकारकर्मीहरूले विरोध जनाएका छन् । त्यस्तै केही रात्रिकालीन व्यवसायी र कर्मचारीहरूले पनि विरोध जनाएका छन् ।
‘म समाजमा देखिने कुरालाई नै विषयवस्तु बनाएर गीतमार्फत भन्ने प्रयास गर्छु’, सपूत भन्छन्, ‘मैले चरित्र निर्माण गरेर कथामार्फत भनेको विषयलाई समाजका केही मान्छेहरू किन पचाउन सक्दैनन् ? यो चाहिँ बुझ्न सकिरहेको छैन ।’ आफू सँधै आलोचनाको लागि तयार रहने भएपनि व्यक्तिगत स्तरमा झरेर गरेको आलोचनाले भने चित्त दुख्ने उनले बताए ।
यो पनि पढ्नुहोस
वर्ष २०८० लाई प्रकाश सपूतले ‘जातीय विभेद विरुद्धको वर्ष’ बनाउने भनेर घोषणा गरिसकेका छन् । ‘विषयवस्तुलाई उठाउँदा जहिल्यै ममाथि प्रहार भइरहेकै छ । तर, ममाथि प्रहार हुन्छ भनेर विषयवस्तु उठाउन छाड्दिन’, उनले भने, ‘केहीलाई मन परेन त के भयो ? अधिकांश दर्शक स्रोताले त रुचाइदिनुभएको छ ।’
कृति भित्रका पात्रहरूको मनोवृत्तिलाई जोडेर सर्जकको व्यक्तिगत आलोचना भइरहँदा मुद्दामा काम नगरौँ कि भन्ने उनलाई लागेको छ ।
‘मैले आफ्नो गीत र भिडियोमा समाजमा हिंसा छ, विभेद छ र खराब प्रवृत्ति मौलाइरहेको छ भनेर देखाउँदा त्यसको पक्षपोषण गरेको हुँदैन । बरु मैले त त्यसविरुद्ध आफ्नो आवाज पो उठाएको हुँ’, प्रकाश भन्छन् ।
स्रष्टाको रूपमा आफ्नो पछिल्लो गीतका केही शब्द र भिडिओको आंशिक दृश्यमाथि आलोचना हुनुलाई प्रकाशले ‘जबरजस्ती गरिएको आलोचना’ भनेका छन् ।