News Griha :: न्यूजगृह
आधुनिक सकम्बरी जो एक चुम्बनले झर्दिनन्...

काठमाडौं— बाध्यता, रहर अनि सपना । यी कुनै वस्तु (कमोडीटी) होइनन् । तर यी ३ चिजले मानिसलाई नै कमोडीटी बनाइदिन्छन् । 

तीन लाइनमा भन्दा गायक प्रकाश सपूतको पछिल्लो गीत ‘फूलमाया’ उर्फ ‘सकम्बरी’को सार यत्ति हो । ‘सकम्बरी’ पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’की एक पात्र हुन् । कुण्ठित मनोवृत्तिका ‘सुयोगवीर’ र हातमा चुरोट लिएर ‘बुलेट’ जसरी उन्मुक्त हाँसोसहित बोल्ने ‘सकम्बरी’ आआफ्नो स्वार्थ पूरा गर्न आपसमा कसरी नजिकिन्छिन् भन्ने कथा ‘शिरीषको फूल’ले बोल्छ । 

गायक प्रकाश सपूतले आफ्नो पछिल्लो कृतिमा फूलमायालाई तीनै सकम्बरीसँग दाँजेका छन् । सकम्बरीकै जस्तो बाध्यता, रहर अनि सपना फूलमायासँग पनि छ । बाध्यता, रहर अनि सपनाले डोर्‍याउँदै जाँदा फूलमायाले थुप्रै सुयोगवीरहरू भेट्छिन् । बाध्यताले डोर्‍याउँदै जीवनका अनेक मोडमा भेटिएका सुयोगवीरहरूलाई नै फूलमाया उर्फ सकम्बरीले आफ्नो रहर अनि सपना पूरा गर्ने कमोडीटी बनाउँछिन् । त्यसो त फूलमाया आफैं पनि वस्तुको रूपमा उपयोग हुन्छिन् । 

प्रकाश सपूतले समाजको कथालाई फरक शैलीमा आफ्ना कृतिमा पस्कँदै आएका छन् । उनले पछिल्लो कृति ‘फूलमाया’मा पनि फरक शैलीलाई छाडेका छैनन् । एउटा युवतीलाई समाजले कसरी हेर्छ र कस्तो धारणा बनाउँछ ? भन्ने कुरालाई प्रकाशले आफ्नो गीत र भिडिओमार्फत भन्न खोजेका छन् ।  

के एक युवतीले बाटो बिराउँदा उसलाई मात्र दोष दिन मिल्छ ? या उसलाई त्यो बाटो समात्न बाध्य बनाउने अनेक पात्र र किस्साहरू पनि दोषको भागिदार हुन्छन् ? सपूतको पछिल्लो कृतिले यस्तै प्रश्नहरू खडा गरिदिन्छ । 

छोरीहरू मात्रै जन्मिए भनेर दोस्री श्रीमती लिएर भागेका बुवा । शहरमा काम मिलाइदिने र संरक्षण गर्ने वचन दिएका नातेदार दाइ । रेस्टुरेन्ट साहुजी, रेस्टुरेन्ट धाइरहने धनाढ्य ग्राहक र यौनपिपासु फिल्म निर्देशक । फूलमाया (कुसुम शर्मा)लाई गलत बाटो समात्न उक्साउने र बाध्य बनाउने यी पात्रहरू हुन् । तर, सबैजना फूलमायालाई दोष दिन्छन् र आफू पानीमाथिको ओभानो बन्न खोज्छन् । फूलमाया प्रश्न गर्छिन्, ‘के केटीको मात्र इज्जत जान्छ ? के केटीलाई मात्र पाप लाग्छ ? केटीलाई वस्तु जसरी उपयोग गर्ने केटा मान्छेलाई चाहिँ केही हुँदैन ?’ उनी भन्छिन्, ‘यदि मलाई पाप लाग्छ भने सबैलाई पाप लाग्छ ।’

गायक सपूतले फूलमाया चरित्रमार्फत पछिल्लो समयको शहरको वास्तविकतालाई देखाएका छन् । अनेक बाध्यताबीच आफ्नो सपना पूरा गर्ने बहानामा युवतीहरूले बाटो बिराइरहेको कुरालाई बलियो गरी उठाएका छन् । एउटी युवतीको बाध्यतामा पुरुषहरूले उठाउँदै आएको फाइदालाई उदांगो पारिदिएका छन् र युवतीको मात्र दोष देख्ने नेपाली समाजको धारणाप्रति प्रश्न गरेका छन् । 

महिलालाई यौन व्यवसायमा संलग्न भएको देखाउँदा अघिल्लो पटक सपूत विवादमा तानिएका थिए । अयोग्य लडाकु र वैदेशिक रोजगारीको कथा देखाउनका लागि बनाएको उनको कृति ‘पीर’ मा यस्तै दृश्य समावेश गर्दा उनले राजनीतिक रूपमै दबाब खेप्नुपरेको थियो । पछि उनले सो दृश्य सम्पादन गरे ।

७० को दशकले प्रकाशलाई निकै चम्कायो । यही दशकको बीचमा उनको संघर्ष र सफलताको ग्राफ कहाँबाट कहाँ उक्लियो । र्‍याप ब्याटलबाट उदाएका प्रकाशको उचाइ बोल माया, गलबन्दीलगायतका गीतले शिखरमा पुर्‍याइदियो । सायद यो तहको उचाइ यो दशकमा कसैले पाएनन् । सपूत ७० को दशकको सर्वाधिक चर्चित गायक हुन् । यो दशकका लागि प्रकाशको अन्तिम कृति ‘फूलमाया’ नै हो । 

दशककै अन्तिम दिन फूलमाया सार्वजनिक गर्दैगर्दा सपूत अमेरिकातर्फ लागेका छन् । नेपाली नयाँ वर्ष उनले उतै मनाउनेछन् । तर, उनको पछिल्लो गीत ‘फूलमाया’ले सामाजिक सञ्जाल र मिडियामा बहस सुरु गरिसकेको छ । धेरैले रुचाए पनि कतिपयले प्रकाश सपूतको यो कृतिमाथि आलोचनात्मक टिप्पणी सुरु गरिसकेका छन् । 

गीत र भिडिओबारे 

‘पीर’ कै मेकिङ शैलीलाई प्रकाशले फूलमाया गीतमा दोहोर्‍याएका छन् । प्रकाशका गीत चर्चित हुन्छन् भन्ने ग्यारेन्टी सबैलाई छ । सोही कारण म्युजिक कम्पनीहरू प्रकाशको गीतमा आफ्नो प्रचार गर्न चाहन्छन् । 

म्यूजिक भिडिओको कन्सेप्टले दर्शकलाई जति आकर्षित गर्छ त्यसमा देखिने विभिन्न कम्पनीहरूको प्रचार सामग्रीले उत्तिकै ‘डिस्टर्ब’ गर्छ । गायक सपूतलाई ‘पीर’ कै बेलामा पनि दर्शकले यस्ता गुनासा नगरेका होइनन् तर, यो भिडिओमा उनले त्यसको सुनुवाइ गरेका छैनन् । 

भिडिओको कथा र निर्देशन पनि आफैँ गरेका प्रकाशको पछिल्लो कृति निर्देशकीय रूपमा सराहनीय होइन । प्रकाश संघर्षको समयमा जस्तो फुर्सदिला छैनन् । त्यसैले पनि होला भिडिओमा साँच्चिकै उनकै ‘लेभल’ को पागलपन देखिँदैन । भिडिओ नराम्रो होइन तर, सपूतले जुन लत दर्शक र स्रोतालाई लगाइदिएका छन् त्यसको तलतल मेट्न अलिक गाह्रो हुन्छ । 

पात्र चयनको हिसाबले गीतको भिडिओमा पनि प्रकाश उम्दा देखिन्छन् । फूलमायाको चरित्रमा कुसुम शर्मा सुहाएकी छन् । रेस्टुरेन्ट सञ्चालकको रूपमा निक्स शर्माको अभिनय राम्रो छ । धनाढ्य ग्राहकको चरित्रमा अभिनेता सुनील थापा छाएका छन् । सधैँ सकारात्मक भूमिकामा देखिँदै आएका सपूतको चरित्र भिडिओमा भने ‘ग्रे लाइन’मा छ । संजोग रसाइली, शालिक भण्डारी, सरस्वती अधिकारीलगायतले आफ्नो चरित्रअनुसार राम्रो काम गरेका छन् । 

गीतको कुरा गर्दा गायक सपूतले आफ्नो स्टाइललाई नै निरन्तरता दिएका छन् । तर, ठाउँठाउँमा लिइने खिट्काले उनकै अघिल्लो गीत पीरसँग मेलोडी धेरै हदसम्म मिलेको सुनिन्छ । यो गीतलाई सुदीप सागरले एरेन्ज गरेका हुन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । हेमन्त कान्छा रसाइलीले सारंगी र संजिव बराइलीले गीतमा गितार बजाएका छन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १५:००
Weather Update