काठमाडौं— अभिनेता अल्लू अर्जुन अहिले ‘पुष्पा २’ भन्दा बढी सन्ध्या थिएटरमा भएको घटनाका कारण चर्चामा छन् । यो घटनाले उनमा तनाव थपिदिएको छ ।
अल्लू अर्जुनले हालै एक पत्रकार सम्मेलनमा केही व्यक्तिहरूले आफ्नो छवि बिगार्ने प्रयास गरिरहेको बताएका छन् । केही समयअघि तेलंगाना राज्यका सिनेमाटोग्राफी मन्त्री कोमाटिरेड्डी वेंकट रेड्डीले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सन्ध्या थिएटरमा भागदौडका क्रममा मृत्यु भएकी महिलाको परिवारलाई फिल्म निर्माण टिमले कम्तीमा २० करोड रुपैयाँ दिनुपर्ने बताएका थिए । हैदराबाद प्रहरीले पनि अल्लू अर्जुनलाई सोधपुछको लागि बोलाइरहेको छ । उनी प्रहरी चौकी धाइरहेका छन् ।
अल्लू अर्जुनसँगै उनका परिवारको घरमा प्रदर्शनकारीहरूले ढुंगामुढा पनि गरेका थिए । असुरक्षा बढ्दै गएपछि उनको परिवारलाई अहिले सुरक्षित स्थानमा पठाइएको छ । कांग्रेस नेता एवं तेलंगानाका सांसद थीनमार मल्लन्नाले अल्लू अर्जुन र ‘पुष्पा २’का निर्माताहरूविरुद्ध उजुरी हालेका छन् । उनीहरूविरुद्ध कडा कदम चाल्न लागि माग गरेका छन् ।
४ डिसेम्बरमा सन्ध्या थिएटरमा ‘पुष्पा २’को प्रिमियर राखिएको थियो। उनीहरूलाई उक्त थिएटरमा अल्लू अर्जुन आउँदैछन् भन्ने थाहा भयो । त्यसपछि त्यहाँ भागदौड मच्चियो । भागदौडका क्रममा एक महिलाको मृत्यु भयो भने र एक बच्चा गम्भीर घाइते भए । यस घटनालाई लिएर अल्लू अर्जुनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।