काठमाडौं— चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपालबाट ४९ करोड ६८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५४ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट ४९ करोड ६८ लाख ग्रसकलेक्सन गरेको हो ।
७५ दिनसम्म हलमा रहिरहे करिब ५० करोड ग्रसकलेक्सन गर्ने निर्माता विनोद पौडेलको विश्वास छ । कात्तिक १५ गते लक्ष्मीपूजाका दिनमा रिलिज भएको यो चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ ।
यो चलचित्रले विदेशमा ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको उनको भनाइ छ । 'बाहिरको यकिन डाटा आइसकेको छैन । तर, हालसम्म ३५ करोडभन्दा माथि नै कलेक्सन गरिसकेको छ,' निर्माता पौडेलले भने ।
‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा ४९ करोड ६८ लाख र नेपाल बाहिर ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गर्दा हालसम्म जम्मा ८५ करोडभन्दा माथि कलेक्सन गरिसकेको छ । भारत, कोरियालगायत देशमा यो चलचित्र प्रदर्शन गर्न अझै बाँकी छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख लागतमा निर्माण भएको चलचित्र हो ।
सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।