News Griha :: न्यूजगृह
‘फूलमाया’ जसले कुसुमलाई सकम्बरी बनायो, त्यो दृश्य जसले कुसुमकी आमालाई रुवायो...

काठमाडौं— कुसुम शर्मा र ‘शिरीषको फूल’की चर्चित पात्र सकम्बरीबीच दुई चिज ठ्याक्कै मिल्छन् । सकम्बरीकै जस्तो कुसुमको कपाल छोटो छ र उनी पनि सकम्बरी झैँ आफ्नै संसारमा रमाउने युवती हुन् । आफूलाई लागेको कुरा फ्याट्टै बोल्छिन् । फरासिली कुसुम सकम्बरीझैं उन्मुक्त हाँस्छिन् । 

Kusum Sharma 11681520704.jpg

प्रकाश सपूतको पछिल्लो गीत ‘फूलमाया’को म्यूजिक भिडिओमा ‘सकम्बरी’ पात्रको रूपमा फिचर भएपछि कुसुमको दिनचर्या नै फेरिएको छ । अहिले उनले जताततैबाट बधाई पाइरहेकी छन् ।

Kusum Sharma 41681520703.jpg

युट्युब हेर्छिन्, आफैले खेलेको गीतको भिडियो ट्रेन्डिङको शीर्ष स्थानमा छ । टिकटक जति स्क्रोल गर्‍यो उति आफू अभिनित गीत गुञ्जिन्छ । ‘के यो साँच्चै हो ? जस्तो लाग्छ ।’ कुसुमलाई आफू कतै सपनामा पो छु कि जस्तो अनुभव भइरहेको छ । 

Kusum Sharma 101681520700.jpg

भिडिओ रिलिजपछि एकाएक चर्चामा आएकी कुसुम भर्खर २० वर्ष पूरा भइन् । नर्सिङ कलेज पढेर उच्च शिक्षा अध्ययनका लागि भाषा पढ्न उनी भर्खरै बितेको सालको असारमा काठमाडौं उक्लेकी हुन् । नवलपुरमा जन्मेर हुर्केकी कुसुमको परिवार अहिले चितवन सरेको छ । आमाबुबा उतै चितवनमा बस्छन्, उनी चाहिँ अध्ययनको लागि हाल काठमाडौंको शंखमूलमा बस्छिन् । 

Kusum Sharma 61681520702.jpg

कुसुमलाई अभिनय गर्ने रहर त सानैदेखि नै लाग्थ्यो । स्कुलमा हुने साँस्कृतिक कार्यक्रमहरुमा उनले भाग लिन्थिन् । कलेज पढ्न थालेपछि उनको ध्यान अध्ययनमै केन्द्रित रह्यो । उनलाई लाग्थ्यो, ‘रहरले मात्रै कहाँ हुन्छ र ? फिल्म खेल्न, अभिनय गर्नका लागि त त्यही क्षेत्रमा आफ्नो मान्छे पनि त हुन पर्‍यो नि !’ रंगीन दुनियाँको रहरलाई पन्छाएर उनी आफ्नो उच्च शिक्षाको तयारीमा लागिन् । बानेश्वरकै एक इन्स्टिच्यूटमा ‘आईएलटीएस’को तयारी गरिन् । 

Kusum Sharma 51681520702.jpg

तर, जब ईश्वर दाहिना हुन्छन् नि, तब भाग्यले आफैँ रहर पूरा गरिदिन्छ । कुसुमको सवालमा यस्तै भयो । प्रकाश सपूतका कान्छा भाइ सुनील बिकसँग उनी साथी बनेकी थिइन् । आफ्ना केही नातेदार दाइहरू सुनीलका साथी थिए । त्यही सन्दर्भमा सुनीलसँग उनको चिनजान भएको थियो । 

Kusum Sharma 91681520701.jpg

गायक प्रकाश सपूतले आफ्नो पछिल्लो गीत ‘फूलमाया’को सकम्बरी पात्रका लागि नयाँ अनुहार खोजिरहेका थिए । एकदिन सुनीलले त्यो पात्रको लागि कुसुम उपयुक्त हुन सक्ने भनेर दाइ प्रकाशसँग कुराकानी गरे । सुनीलले नै कुसुमलाई प्रकाशसँग भेट गराए र प्रकाशले कुसुमको अडिसन लिए । अडिसनबाट छनौट भएपछि कुसुमले म्युजिक भिडिओमा अभिनय गर्ने मौका पाए । 

Kusum Sharma 31681520703.jpg

अभिनयको हिसाबले कुसुमको ‘डेब्यू’ नै यही भिडिओ हो । ‘भिडिओ सार्वजनिक हुने बित्तिकै मलाई के गरौँ र कसो गरौँ भइरहेको छ । मेरो पहिलो काम भएपनि धेरैले रुचाइदिनुभएको छ । त्यसैले ममाथि अझै राम्रो गर्ने जिम्मेवारी पनि थपिएको महसुस गरेकी छु,’ कुसुमले भनिन्, ‘म यति खुशी छु कि त्यसको सीमा नै छैन ।’

Kusum Sharma 21681520704.jpg

र, पात्र नियति 

२० वर्षीया कुसुमले फूलमाया चरित्रमा आफूलाई जसरी प्रस्तुत गरेकी छन् त्यो देखेर सुरुमा उनको परिवार झस्कियो । बाध्यता, रहर र सपनाको यात्रामा फूलमाया चरित्रले जुन बाटो समात्छ, त्यो साँच्चिकै झस्काउने खालकै छ । 

Kusum Sharma 121681520700.jpg

हातमा चुरोट लिएर फुरुर्र उडाउँदै ‘सुगर ड्याडी’हरूसँग रात बिताउने फूलमाया चरित्रमा आफ्नी छोरीलाई देख्दा कुसुमकी आमा सुरुमा डराइन् । ‘मेरो बुबा साँच्चै अन्डरस्टान्डिङ (समझदार) हुनुहुन्छ । यो केवल एउटा पात्र भएर गरेको अभिनय मात्र हो भनेर आमालाई सम्झाउनुभयो,’ कुसुम भन्छिन्, ‘जब फेरि घरको खर्च धान्न काँधमा झोला बोकेर बाध्यताको यात्रा गर्दै गरेकी फूलमायालाई आमाले देख्नुभो, साँच्चिकै मज्जाले रुनुभो ।’

Kusum Sharma 71681520702.jpg

कुसुमलाई थाहा छ, भिडिओको फूलमाया चरित्रलाई जसरी नै आफूलाई पनि यस क्षेत्रका मानिसहरूले उपयोग गर्न सक्छन् । उनी यो विषयमा सचेत छिन् । ‘रहर पूरा गर्न म त्यति साह्रो फुर्केकी पनि छैन । के गर्ने र के नगर्ने ? भन्ने विषयमा मलाई जानकारी छ,’ उनी थप्छिन्, ‘करिअरको सम्बन्धमा सोचेर र सम्झेर मात्रै अगाडि बढ्छु ।’ आफूले सपना साँचेको र रहर पालेको क्षेत्रमा अगाडि बढ्न जे पनि सम्झौता गर्ने पक्षमा कुसुम छैनन् । 

Kusum Sharma 111681520700.jpg

डेब्यू नै धमाकेदार भएपछि कुसुमलाई आफ्नो रहर पूरा हुने आस पलाएको छ । उनले तत्काललाई विदेश अध्ययनको योजनालाई ब्रेक लगाएकी छन् । भन्छिन्, ‘सुरुवात राम्रो भएको छ । अभिनेत्रीको रूपमा अझै राम्रा कामहरू गर्ने उत्साह बढेको छ ।’

Kusum Sharma 81681520701.jpg

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०७:००
Weather Update