काठमाडौं— अहिले युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ गायक प्रकाश सपूतको पछिल्लो गीत ‘फूलमाया’ ।
सामाजिक सञ्जाल होस् या चिया गफ, प्रकाश कै गीतको चर्चा छ । कतिले प्रकाशले गीतमार्फत दिन खोजेको सन्देशको सकारात्मक पक्षको रूपमा वकालत गरिरहेका छन् भने कतिले गीतमार्फत प्रकाशले युवतीलाई वस्तु (कमोडिटी)को रुपमा प्रस्तुत गरेको आरोप लगाइरहेका छन् । सपूतले महिलालाई यौन साधनको रुपमा मात्र गीतको भिडिओमा प्रस्तुत गरेको आरोप लगाउँदै अधिकारकर्मी तथा रात्रिकालीन व्यवसायीहरूले सामाजिक सञ्जालमा धारणा राखेका छन् ।
प्रकाश सपूत विवादमा तानिएको यो पहिलोपटक भने होइन । पछिल्लो पटक उनकै शब्द, संगीत र गायनमा सार्वजनिक गीत ‘पीर’को भिडिओमा पनि सपूतले अयोग्य माओवादी छापामारले यौन व्यवसायमा लागेर बाँच्नुपरेको यथार्थ देखाएका थिए । तत्कालीन समयमा माओवादी पार्टीबाट चर्को दबाब आएपछि सपूतले भिडिओ पुनः सम्पादन गरेर युट्युबमा अपलोड गर्नुपरेको थियो । प्रकाशका हरेक गीतले बहस सृजना गर्छन् ।
फूलमायामा एउटी युवतीले लगाउने गहना, कपडासँगै उनी सवार हुने सवारी साधन कहाँ बाट आयो? भन्ने प्रश्न अस्वभाविक भएको अधिकारकर्मी तथा व्यवसायीको बुझाई छ । युवतीहरूले मेहेनतबाट पनि आफ्नो लागि उपभोग्य सामग्री किन्न सक्ने खुबी राख्ने उनीहरूको तर्क छ ।
‘राती तिरै काम के को होला नी ?’ प्रकाश सपूतले फूलमाया चरित्रलाई प्रश्न गर्छन् । पत्रकार गीता चिमोरिया लेख्छिन्, ‘रातीमा डाक्टर/नर्स अस्पतालको ड्युटी सकाएर आएका हुनसक्छन् । पत्रकार समाचार लेखेर/पढेर फर्केका हुन सक्छन् । नेता, मन्त्री रहेछन् भने दलकै बैठक सकेर आएका होलान् । प्रहरी रहेछन् भने सुरक्षाको जिम्मेवारी पूरा फर्केका हुनसक्छन् । अन्य धेरै त्यस्तो प्रोफेसन छ, जहाँ १०/५को ड्युटी खोजेर हुँदैन ।’
लेखक तथा पत्रकार यादव देवकोटाले आफ्नो वालमा लामो कमेन्ट्री लेख्दै प्रश्न गरेका छन्, ‘(प्रकाशसपूत) तिम्रो गीतको इज्जत महिलाको योनीले कति बोकिरहनुपर्ने हो ?’ देवकोटा अगाडि थप्छन्, ‘प्रकाश पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन् । रातमा काम गर्ने, पाउजु लगाउने, सुनको बाला लगाउने, बुलाकी लगाउने, (रातो) स्कुटर चढ्नेहरू योनि लिलाम गर्ने यौन बजारको वस्तु हुन् भन्ने उनको बुझाई रहेछ ।’
अधिकारकर्मी सरू सुनारले पनि प्रकाशको पछिल्लो गीतप्रति आपत्ती जनाएकी छन् । उनले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘महिलाको आर्थिक स्रोत खोज्ने र देखाउने प्रकाश सपूतले पुरुष वेश्या (जिगोलो)को आर्थिक स्रोत देखाउन सक्छन् कि नाई ? महिलाहरूको अस्मितामाथि मात्रै किन प्रश्न ?’ उनले महिलाको अस्मितामाथि बारबार प्रहार गर्ने काम सपूतले बन्द गर्नुपर्ने उल्लेख गरेकी छन् ।
रात्रिकालीन व्यवसाय गर्ने व्यवसायी र कर्मचारीहरूले पनि प्रकाश सपूतको भिडिओप्रति आपत्ती जनाएका छन् । दोहोरी सञ्चालक विनोद श्रेष्ठले प्रकाश सपूतले तत्काल उक्त गीत र भिडिओ युट्युबबाट हटाउनुपर्ने धारणा राखेका छन् । एक युट्युब च्यानलसँग कुराकानी गर्दै श्रेष्ठले प्रकाशको गीत र भिडिओबाट रात्रिकालीन व्यवसाय गर्ने व्यवसायी र कर्मचारीहरूको बदनामी भएको आरोप लगाएका छन् । ‘कुनै बेला प्रकाश सपूत आफै पनि रात्रिकालीन कर्मचारी थिए । दोहोरीमा गाउँथेँ । आफैँ पनि त्यही क्षेत्रबाट उठेर आजको स्थानमा आएका हुन्’, श्रेष्ठले भनेका छन्, ‘आफ्नै इतिहास जोडिएको क्षेत्रलाई यस्तो बदनाम गराउने ?’
सपूतको गीतलाई आलोचना गर्नेको भन्दा गज्जबको भन्नेको संख्या सामाजिक सञ्जालमा बढि देखिन्छ । युट्युबमा प्राप्त कमेन्ट (समाचार तयार पार्दासम्मको संख्या १३,३५२ छ ।) हेर्ने हो भने प्रायः सबैले प्रकाशलाई समाजको वास्तविकता दिएकोमा धन्यवाद दिएका छन् । करिब ५० लाख पटक हेरिसकिएको भिडिओमा साढे २ लाख जनाले लाइक गरेका छन् । अभिनेता तथा ‘लुकेको गाऊँ’का सञ्चालक गोपाल अर्याल लेख्छन्, ‘प्रकाश सपूतजस्ता जिउँदा मान्छेहरू हाम्रो समाज र राज्यमा हुनुपर्छ । विरोध गर्नेहरूले त बहाना खोज्ने न हुन् । नत्र त सही र गलत दुवैकोमूल्यांकन र समीक्षा हुनुपर्छ ।’ उनले भिडिओमा देखाइएका पात्रहरूप्रति लक्षित गर्दै ती पनि कुरूप समाजका बिरामी भएको उल्लेख गरेका छन् । साथै भिडिओको अन्तर्य नबुझी बोक्रे विरोध गर्न नहुने उनको तर्क छ ।
अर्का गायक तथा निर्देशक शशान कँडेलले पनि सपूतको पक्षमा विचार राखेका छन् । ‘वास्तविक जीवनमा कहाँ छैनन् र फूलमायाहरु ? नेताका गर्लफ्रेन्ड नेता बनेकै छन् । कर्मचारीमा सरुवाबढुवा लिन होस् या फिल्म, संगीत र खेलकुदमा अवसर युवतीहरूलाई भिडिओकै सकम्बरीको नियति भोग्नुपर्ने बाध्यता छ ।’ उनी लेख्छन्, ‘कलाले समाजमा जे देखिन्छ, त्यही देखाउने हो । आखिर गीत, संगीत र म्युजिक भिडिओहरु समाजकै ऐना न हुन् ।’
स्वयं प्रकाश भने यतिबेला सांगीतिक प्रस्तुतिका लागि अमेरिकामा छन् । ‘फूलमाया’ उर्फ ‘सकम्बरी’लाई दर्शकमाझ सुम्पेर अमेरिका प्रस्थान गरेका प्रकाशले गीतको रचनागर्भ र पछिल्लो बहसको विषयमा भने मुख खोलेका छैनन् । उनले चाँडै नै आफूले गीतको बारेमा आफ्नो धारणा राख्ने बताएका छन् ।