News Griha :: न्यूजगृह
बझाङ भूकम्पमा एक महिला बेपत्ता, स्थानीयको खुला आकासमुनि बास [अपडेट]

काठमाडौं—  बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण पहिरो जाँदा एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जयपृथ्वी नगरपालिका–११ओखलीकी ४० वर्षीया गुनमति धामी बेपत्ता भएकी हुन् ।

उनी मंगलबार दिउँसो टिमुर टिप्न जङ्गल गएकी थिइन् । घर नफर्किएपछि उनको खोजी भइरहेको छ । उनी टिमुर टिप्न गएको ठाउँमा पहिरो गएको छ। उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत शाहले बताए।

उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो पनि पढ्नुहोस

महाभूकम्प आउनै बाँकी !

त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रबिन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट अहिलेसम्म १३ जना घाइते भएको तथ्यांक छ

यस्तै सदरमुकाम र विभिन्न स्थानीय तहका दर्जनौं घरहरूमा क्षति भएको छ । सदरमुकामका पक्की घरहरू चर्किएका छन् । गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन् ।

भूकम्पले घर क्षति गरेपछि स्थानीयहरूको खुला आकासमुनि बास भएको छ। घरमा क्षति नभएकाहरू पनि भूकम्पको त्रासले बाहिरै बसेका छन् ।

जिल्लामा भूकम्पका कारण जनजीवन प्रभावित बनेको छ। सुरक्षित ठाउँमा रहन जिल्ला प्रशासन बझाङले अनुरोध गरेको छ। कुन ठाउँमा कति क्षति भयो भन्नेबारे प्रहरीले तथ्यांक संकलन गरिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २२:०४
Weather Update