News Griha :: न्यूजगृह
३ घण्टाभित्र बझाङमा  ४ रेक्टरमाथिका ६ वटा भूकम्प

काठमाडौं— बझाङमा केन्द्रबिन्दु भएर मंगलबार पटकपटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो ।

‘३ बजेर ६ मिनेटको मेनसकपछि ४ रेक्टरमाथिका ३-४ वटा परकम्प गएका छन्,’ केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाले भने, ‘४ रेक्टरभन्दा कमका त थुप्रै परकम्प गएका छन् ।’

केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।

Photo-2-earthquake-1696337182.jpgभूकम्प कुनै सूचना वा पूर्वसूचना दिएर आउँदैन, एकै दिन धेरै पटक भूकम्प गए पनि आफूहरूले जोखिम घट्यो बढ्यो केही भन्न नसक्ने उनले बताए ।

भूकम्पविद्का अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्र मै नेपाल पर्छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैँ भूकम्पको जोखिम क्षेत्रमा छ ।भूकम्प नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला ठूलो भूकम्प जाने खतरा हुन्छ ।

भूकम्पविद्का अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।

२०७२ सालमा भूकम्प गएको गोरखा पश्चिमको क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिमको क्षेत्रमा छ ।

तिम्सिना भन्छन्, ‘आज एकै दिन धेरै पटक भूकम्प गयो भनेर मात्र हैन, अरु बेलामा पनि सुदूरपश्चिम भूकम्पको जोखिममा थियो र छ त्यसैले सावधानी त सधैँ अपनाउनु पर्छ ।’

bajhang-earthquake-1-1696337183.jpg

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:१०
Weather Update