News Griha :: न्यूजगृह
अन्ततः ढाकाकुमारले गरे मन्त्री बनाउन ३ करोड माग्ने रविको 'कोर टीम'को खुलासा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रुपैयाँ मागेको खुलाएका छन् ।

समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ रकम घुस मागेको अडिओ सार्वजनिक भएको थियो । सोही अडिओका कारण उनलाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो ।

श्रेष्ठले आफू मन्त्री बन्ने भन्दै 'कोर टीम' का लागि दुई करोड चाहिएको बारेमा प्रसाईँसँग कुराकानी गरेको अडिओ संवादमा खुलेको थियो । सोही 'कोर टीम'का सदस्यमध्येकै एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपैयाँ मागेको श्रेष्ठको दाबी छ । 

स्पेस फोर के टेलिभिजनसँगको संवादमा श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोड रुपैयाँमा डिल भएको खुलाएका छन् ।

दुर्गा प्रसाईँसँगको अडिओ प्रकरणबारे उनले भनेका छन्, 'अझै पनि त्यो अडिओको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिङ गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडिओलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि ।'

प्रसाईँसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको बताएका छन् । प्रसाईँले नै नियोजितरूपमा अडियो सार्वजनिक गरेको आरोप उनको छ ।

'एकपटक कुरा भएको थियो, दुर्गाजी केही परे सहयोग गर्नुपर्छ है, मेडिकल फिल्डको मान्छे भनेर केही समयअगाडि कुरा गरेको थिएँ । तर, उहाँले सुनियोजित तरिकाले उपचुनावको बेलामा ल्याएर मलाई ह्वाट्सएपमा फोन गर्नुभयो र सहयोगको कुरा गर्नुभयो । मन्त्री बन्दै हुनुहुँदो रहेछ, तपाईंलाई मैले सहयोग गर्नुपर्‍यो के भन्नुहोस्,' श्रेष्ठले भने । 

उनका अनुसार प्रसाईं आफैँले सहयोगको कुरा अगाडि बढाएका हुन् । मन्त्री बन्ने कन्फर्म भइसकेको भन्दै मोहनजंग थापालगायतको टीमले तारन्तार फोन गरेपछि आफू रकम व्यवस्थापनमा लागेको र सोही क्रममा फिर्ता दिने गरी दुर्गा प्रसाईँसँग कुरा भएको उनको प्रष्टोक्ति छ ।

तर, सुनियोजित तरिकाले पूरै संवाद बाहिर नल्याइएको दाबी उनले गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २१:०५
Weather Update