
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडिओ पनि सार्वजनिक भएको छ ।
कपुरबोट मिडियाबाट सार्वजनिक भएको दोस्रो अडिओमा आफूलाई ढाकाकुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन संवाद छ । उक्त अडिओमा ती व्यक्तिले ढाकाकुमारले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय मागेका छन् ।
‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । दाइलाई फसाए । हजुरले यसो बुझ्दिनुपर्यो यो कुरालाई,’ भाइ भन्ने व्यक्तिले प्रसाईंलाई फोनमा भनेकाे कुरा हाे याे ।
प्रसाईंले ढाकाकुमारको नभइ रवि लामिछानेको दोष रहेको भन्दै ढाकाकुमारलाई सहयोग गर्न तयार भएको बताउँछन् ।
भाइ बताउने व्यक्तिले भन्छन्, ‘एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’ ‘म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल,’ प्रसाईं भन्छन् ।
आफूलाई ढाकाकुमारको भाइ भनेर चिनाएका ती व्यक्तिले ‘दाइले एकचोटि कुरा गर् न त’ भनेर भनेकाले आफूले फोन गरेको प्रसाईंलाई बताउँछन् ।
आइतबार सार्वजनिक अडिओमा ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै प्रसाईंसँग पैसा मागेको कुराकानी छ ।