News Griha :: न्यूजगृह
सुन तस्करीका नाइकेसँग ‘कनेक्सन’ देखिएपछि अध्यागमन विभागका महानिर्देशकलाई जिम्मेवारीबाट हटाइयो
फाइल तस्बिर ।

काठमाडौं— गृह मन्त्रालयले सुन तस्करी प्रकरणमा मुछिएपछि अध्यागम विभागका महानिर्देशक झलकराम सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।

गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको तस्करीको सुन प्रकरणमा अधिकारीकोसमेत संलग्नता रहेको दाबीसहितका समाचार सार्वजनिक भएपछि गृहले जिम्मेवारीबाट हटाउँदै मन्त्रालय तानेको हो । 

गृह स्रोतले भन्यो, ‘सुन तस्कर दावा लामासँग कनेक्सन देखिएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानेका हौं । योसँगै आवश्यक  छानविन शुरु भइसकेको छ ।’ 

उनलाई मन्त्रालयको जगेडामा राखिएको छ । तस्करीको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ । अहिलेसम्मको अनुसन्धानले सुन तस्करीको नाइके दावा लामा रहेको पाइएको छ । गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारी र नाइके दावाबीच सुन तस्करीको पूर्व सूचना वीच्याट मार्फत् आदानप्रदान भएको देखिन्छ । त्यस्तै, उनीहरूबीच रकम लेनदेन समेत भएको सहजै अनुमान गर्न सकिन्छ ।

सार्वजनिक समाचारमा महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदानको कुराकानी भएको दाबी गरिएको छ । चिनियाँ मूलका बेल्जियम नागरिक लामालाई राजश्व अनुसन्धान विभागको टोलीले साउन १४ गते ठमेलबाट पक्राउ गरेको हो । लामाको ठमेलमा होटल पनि छ  ।

को हुन दावा ?
लामा विभिन्न आपराधिक गतिविधिमा संलग्न छन् । विभिन्न आपराधिक घटनामा संलग्न उनलाई चिनियाँ दूतावासले पक्राउ गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको थियो । तर नेकपा माओवादी केन्द्रका उच्च तहका नेताहरूको संरक्षणमा उनी जोगिदै आएका थिए । दावाको माओवादी केन्द्र उपमहासचिव वर्षमान पुन र नेतृ ओनसरी घर्तीसँग निकट सम्बन्ध रहेको स्रोत बताउँछ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत लामाको घनिष्ठ सम्बन्ध छ । 

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालसमेत उनलाई जोगाउन भूमिका खेलेका थिए । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादी नेताहरूले उनलाई पक्राउ नगर्न दबाब दिएपछि प्रहरीसमेत हच्किएको थियो । 

नेपालमा बसेर चिनियाँ नागरिकलाई ठगेको उजुरीपछि दूतावासको समन्वयमा चीनबाट टोली नेपालमा आएर अपरेसन नै गरेको थियो । जसमा केही चिनियाँ नागरिक पक्राउसमेत परेका थिए । उनीहरूलाई चीन सरकारले जहाज नै चार्टड गरेर लगेको थियो । सुन तस्करी प्रकरणमा पक्राउ परेका दावासँग नेपाली नागरिकतासमेत छ ।

दावाकै संलग्नतामा नेपालमा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ् र अश्लील भिडिओ देखाएर र ‘लोन’ (ऋण) एप मार्फत अवैध असुली हुने गरेको समाचार प्रकाशित भएको थियो । त्यसमा उनकी पत्नी अमला पुन र मञ्जिल श्रेष्ठसमेत संलग्नता थियो । तर, अमला र दावाले भने त्यतिबेला माओवादी नेताहरू कै दबाबमा उन्मुक्ति पाए ।

दावाले नेपाली र बेल्जियम दुवै देशको राहदानी प्रयोग गरिरहेको अनुसन्धानबाट खुलेको छ । उनको नेपाली नागरिकता र बेल्जियमको राहदानी दुवैमा जन्म मितिसमेत फरक छ । उनले काभ्रेबाट लिएको नागरिकतामा जन्ममिति २०४१ वैशाख १५ उल्लेख छ भने बेल्जियमको राहदानीमा २०४० चैत ३ गते उल्लेख रहेको छ । 

राजस्व अनुसन्धान विभागको टोलीले साउन २ मा बरामद गरेको सुनमा दावाकोसमेत मुख्य भूमिका रहेको अनुसन्धानमा देखिएको छ । उनले खासगरी सुन व्यवस्थापनमा भूमिका खेलेको पाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:५७
Weather Update