
काठमाडौं— त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालय हुँदै बाहिरिएको तस्करीको करिब सय केजी सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले आइतबार दावा लामालाई पक्राउ गर्यो । चिनियाँ मूलका बेल्जियम नागरिक लामालाई विभागको टोलीले आइतबार ठमेलबाट पक्राउ गरेको हो । लामाको ठमेलमा होटल पनि छ ।
उनको भियना होटलमा समेत विभागको टोलीले छापा मार्यो । उनी सुन तस्करी प्रकरणका मुख्य नाइके भएको दाबीसमेत अधिकारीको छ । नाइके भनिएका लामा पक्राउपछि सुन तस्करीमा संलग्न गिरोहबारे जानकारी मिल्ने अपेक्षा गरिएको छ । लामा विभिन्न आपराधिक गतिविधिमा संलग्न छन् ।
विभिन्न आपराधिक घटनामा संलग्न उनलाई चिनियाँ दूतावासले पक्राउ गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको थियो । तर नेकपा माओवादी केन्द्रका उच्च तहका नेताहरूको संरक्षणमा उनी जोगिदै आएका थिए । दावाको माओवादी केन्द्र उपमहासचिव वर्षमान पुन र नेतृ ओनसरी घर्तीसँग निकट सम्बन्ध रहेको स्रोत बताउँछ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत लामाको घनिष्ठ सम्बन्ध छ ।
पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालसमेत उनलाई जोगाउन भूमिका खेलेका थिए । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादी नेताहरूले उनलाई पक्राउ नगर्न दबाब दिएपछि प्रहरीसमेत हच्किएको थियो ।
नेपालमा बसेर चिनियाँ नागरिकलाई ठगेको उजुरीपछि दूतावासको समन्वयमा चीनबाट टोली नेपालमा आएर अपरेसन नै गरेको थियो । जसमा केही चिनियाँ नागरिक पक्राउसमेत परेका थिए । उनीहरूलाई चीन सरकारले जहाज नै चार्टड गरेर लगेको थियो । सुन तस्करी प्रकरणमा पक्राउ परेका दावासँग नेपाली नागरिकतासमेत रहेको स्रोत बताउँछ ।
दावाकै संलग्नतामा नेपालमा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ् र अश्लील भिडिओ देखाएर र ‘लोन’ (ऋण) एप मार्फत अवैध असुली हुने गरेको समाचार प्रकाशित भएको थियो । त्यसमा उनकी पत्नी अमला पुन र मञ्जिल श्रेष्ठसमेत संलग्नता थियो । तर, अमला र दावाले भने त्यतिबेला माओवादी नेताहरू कै दबाबमा उन्मुक्ति पाए ।
दावाले नेपाली र बेल्जियम दुवै देशको राहदानी प्रयोग गरिरहेको अनुसन्धानबाट खुलेको छ । उनको नेपाली नागरिकता र बेल्जियमको राहदानी दुवैमा जन्म मितिसमेत फरक छ । उनले काभ्रेबाट लिएको नागरिकतामा जन्ममिति २०४१ वैशाख १५ उल्लेख छ भने बेल्जियमको राहदानीमा २०४० चैत ३ गते उल्लेख रहेको छ ।
राजस्व अनुसन्धान विभागको टोलीले साउन २ मा बरामद गरेको सुनमा दावाकोसमेत मुख्य भूमिका रहेको अनुसन्धानमा देखिएको छ । उनले खासगरी सुन व्यवस्थापनमा भूमिका खेलेको पाइएको छ । सुन तस्करीमा मुख्य व्यक्तिलाई जोगाउन सरकारका मन्त्री नै लागेको आरोप लागिरहेका बेला उनी पक्राउ परेका हुन् । दावा पक्राउ परेसँगै सुन तस्करीमा राजनीतिक नेतृत्वको समेत संलग्नता हुने भन्दै छानविन अघि बढाउन सामाजिक सञ्जालमा आवाज उठेको छ ।
माओवादी उपमहासचिव पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई आफूसँग जोडेर गरिएको प्रचारप्रति गम्भीर आपत्ति रहेको जनाएका छन् । उनले सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गलत प्रचार गरिएको भन्दै सुन तस्करीको निष्पक्ष छानविनको पूर्णरूपमा समर्थन गर्ने बताएका छन् ।