
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज मंगलबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
साउन २ गते मंगलबार राजनीति, सामाजिक, धर्म संस्कृति, सुरक्षा अपराधलगायतका विषयका समाचार मुख्य मुख्य बने । एक वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक पहिलोपटक प्रत्यक्ष प्रसारण गरिएको थियो । बैठकमा महामन्त्री तथा विभागीय प्रमुखहरूले सभापति शेरबहादुर देउवालाई रिपोर्टिङ गरेका छन् । मंगलबार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको सम्झनामा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलि सभाको आयोजना गरियो । सभामा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्व प्रमहरूलगायत उपस्थित भए । त्यसैगरी मंगलबार डेंगु संक्रमण,अर्थमन्त्री डा.प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता, मिटरब्याज पीडितको आन्दोलन र विभिन्न नेताहरूका अभिव्यक्ति पनि प्रमुख समाचार बनेका छन् ।
000
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलोपटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए । यसैगरी अर्का महामन्त्री गगन थापाले सांगठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
000
भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थ मन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा.प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएको अर्थमन्त्री डा.महतको सचिवालयले जनाएको छ ।
यो पनि पढ्नुहोस
000
मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तम्तयार भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ । नेपाल एअरलाइन्सको एन—एकेडब्लू न्यारोबडी जहाज मंगलबार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ । स्थानीय समयअनुसार बिहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटि देखिएपछि उडान डिले भएको थियो । प्राविधिक मर्मतपछि स्थानीय तहअनुसार दिउँसो ३ बजे उडान भइसकेको निगमले जानकारी दिएको छ । जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो । के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सो पत्ता लगाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको निगमको भनाइ छ ।
000
सप्तरीमा नाबालिगमाथि सामूहिक बलात्कार भएको छ । कञ्चनरूप नगरपालिकाकी १७ वर्षीया नाबालिगमाथि चार जनाले गत शुक्रबार सामूहिक बलात्कार गरेको थिए। घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरूपका अनुसार पक्राउ पर्नेमा कञ्चनरूप– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् । प्रहरीका अनुसार उनीहरूले पीडित किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेका हुन् । त्यसपछि आइतबार पीडित किशोरीका आफ्न्तले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार मुख्य योजनाकार कैलाश हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
000
छिल्लो समय डेंगु संक्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेंगु संक्रमण उच्च भएको हो । इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता डेंगु संक्रमण बढेको बताए । उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण संक्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए । डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगु संक्रमण हुन्छ । एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका छन् ।
यो पनि पढ्नुहोस
000
महाकाली नदीमा पानीको बहाव बढेको छ । बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ । बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको हो ।
000
मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्त्वपूर्ण मानिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । काठमाडौं उपत्यका प्रवेश विन्दु मानिने नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायु प्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ । सुरुङमार्गको मुख्य टनेल निर्माण हुन अब पाँच सय २५ मिटर बाँकी छ भने आपतकालीन अवस्थामा उद्धारका लागि निर्माण गरिएको ‘रेस्क्यू टनेल’को ७४ मिटर खन्न बाँकी छ । यो विवरण गत असार २९ गतेसम्मको भएको आयोजनाले जानकारी दिएको छ ।
000
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीताले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए । साथै उनले अन्तिम अवस्थामा अस्पतालको आईसीयू वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए । सीताप्रति श्रद्धाञ्जलि दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जलि उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।