काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख सचेतक रमेश लेखकले प्रमुख प्रतिपक्षी आक्रामक र अन्य प्रतिपक्षी अधैर्य भएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेमकिपालगायतबारे सचेतक लेखकले बैठकमा बिफ्रिङ गरेका हुन् ।
उनले भने,‘प्रमुख प्रतिपक्षी आक्रमक छ, गठबन्धन परिवर्तन भएर पनि होला । परिपक्क भए पनि प्रमुख प्रतिपक्षी कहिलेकाहीँ अधैर्य देखिन्छ ।’
उनले अरू प्रतिपक्षी दलहरू आक्रमक, अधैर्य र संसदीय अभ्यासमा अपरिपक्क रहेको टिप्पणी गरेका थिए । ‘संसदीय अभ्यासमा नयाँनयाँ भएर होला यदाकदा प्रतिपक्षीहरू अपरिपक्क पनि देखिइरहेका छन्,’ उनले भने ।
कांग्रेस संसद्को ठूलो दल भएकोले सत्तापक्ष र प्रतिपक्षसँग समन्वयकारी भूमिकामा रहनुपर्ने उनले बताए ।