News Griha :: न्यूजगृह
अन्तरजातीय विवाह गरेका एक जोडी भन्छन्— बुबाले पशुपतिको जंगलमा लगेर कुट्नुभयो, प्रहरीले उजुरी दर्ता गर्न मानेन  

काठमाडौं— अन्तरजातीय विवाह गरेका कैलालीका एक जोडीले माइती पक्षले निरन्तर मानसिक यातना दिएको गुनासो गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरस्वती खड्का र सुरेश विश्वकर्माले विवाहपछि आफूहरूमाथि निरन्तर माइती पक्षबाट शारीरिक र मानसिक यातना दिने काम भएको गुनासो गरेका हुन् ।

६ महिनाअघि भागी विवाह गरेका कैलालीका सुरेश र सरस्वतीलाई विवाहपछि पहिलोपटक बुबाले काठमाडौंमा भेटेर कोठामा बोलाएर कुटपिट गरेको उनीहरूको आरोप छ ।

बुबाले भेटेर कोठामा लिएर गएको र सरसल्लाहको लागि सुरेशलाई पनि बोलाउन भनेको सरस्वतीले बताइन् । सुरेशलाई बुबाले कुराकानीकै क्रममा हिँड्दै गर्दा पशुपतिको जंगलतिर लगेर कुटेको आरोप सरस्वतीकाे छ ।

पशुपतिमाथिको जंगलमा लगेर सुरेशलाई भाई र बुबाले कुटपिट गरेको सरस्वतीले बताइन् । उनले भनिन्,‘कुराकानीकै क्रममा बुबाले मिठोमिठो कुरा गर्दै हिँड्दैहिँड्दै पशुपतिको माथिको जंगलतिर लैजानुभयो । जब जंगलको बीचमा पुगेपछि मेरो भाई र बुबा भएर मेरो श्रीमानलाई हातपात गर्नुभयो । सबै कुरा मिलाउँछु र तिमीहरूले जे गरे पनि ठिकै छ, जे नहुनु थियो, गरिहाल्यौ भन्दै सम्झाएको मान्छेले एक्कासी जंगलकोबीचमा लगेर कुटपिट गर्न थालेपछि म चिच्चाएँ ।’

सरस्वतीले माइती पक्षले बारम्बार धम्की दिने र कोठामा गएरै तालाचावी फोड्नेसम्मको हर्कतपछि अहिले गाउँकै भाई पर्नेको कोठामा शरण लिएर बसेको बताइन् । सरस्वतीले आफू र आफ्नो श्रीमानलाई सुरक्षित बाँच्न पाउने वातावरण मिलाइदिन सरोकारवालसमक्ष आग्रह गरेकी छिन् ।

गौशला प्रहरी, माली गाउँ र जगाती प्रहरी कार्यालयमा आफूहरूले उजुरी लिएर जाँदा पनि उल्टै हिनताबोध हुने कुरा गरेर पठाएको उनको आरोप छ । कानुनमा अन्तरजातीय विवाहमा विभेद नभए पनि आफूहरूले प्रहरी प्रशासनबाट समेत विभेद सहन परेको उनीहरूको गुनासो छ ।

उनीहरूले भने,‘समस्या पर्दा प्रहरीहरूले सहयोग गर्छन्, प्रहरीकोमा जानुपर्छ भन्ने हाम्रो मनमा हुन्छ । तिमीलाई अलिकति पनि लाज लाग्दैन ? तिमी मेरो प्रेमी हो, मैले विवाह गरेर आएँ भन्दैछौं तर तिम्रो एकछिनको रोमान्समात्रै हो । जिन्दगी चल्दैन भनेर भन्नुभयो ।’

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २०:१७
Weather Update