
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज सोमबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
सोमबार धर्मसंस्कृति, राजनीति, सुरक्षा अपराध, खेल, सामाजिकलगायत विषयका समाचार मुख्य मुख्य बनेका छन् । साउनको पहिलो सोमबार भएका कारण देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्यो । साउन महिना र पहिलो सोमबार व्रत बसी भगवान् शिवको पूजाआजा गर्ने धार्मिक परम्परा छ । त्यसैगरी सोमबार बिहानैदेखि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या आयो । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीय पुनः आन्दोलनमा उत्रिए । काठमाडौंबाट फोहोर बोकेर त्यसतर्फ गएका गाडीलाई उनीहरूले बाटोमै रोकेर फिर्ता पठाइदिए । त्यसैगरी नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक, एसीसी इमर्जिङ टिम्स एसियामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित, काठमाडौं महानगरपालिकाले तोकेको पार्किङ शुल्कलगायतका विषय पनि सोमबार मुख्य मुख्य समाचार बने ।
000
नेपाली कांग्रेसले मंगलबारदेखि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दश वटा एजेण्डा तय गरिएको जानकारी दिए । उनले पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने बताए । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रश्तुत हुने उनले जानकारी दिए । उनले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रश्तावित हुने उल्लेख गरे । केन्द्रीय कार्यसमिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ ।
000
साउन महिनाको पहिलो सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजाआजा गरी मनाइएको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड लागेको थिया । बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको थियो । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको थियो । साउन महिना र सोमबार भगवान् शिवको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्लीको गलेश्वर लगायतका शिवालयमा भक्तजन बिहानैदेखि महादेवको पूजाआराधनामा व्यस्त थिए ।
000
मत्स्येनारयाण (मलमास) मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार (प्रतिपदा) देखि मेला सुरु गर्नका लागि मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण तयारी पूरा गरेको जनाएको हो । मत्स्येनारायण मन्दिरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष अच्युत अधिकारीले मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । उहाँले मलमासको एक महिना अन्य भगवानको पूजा आराधना नहुँदा पुरुषोत्तम (विष्णु) भगवानको पूजा आराधना हुने बताए । मेलाको सम्पूर्ण तयारी सकिसकेको र दर्शनार्थीका लागि आवश्यक दर्शनको सहज प्रबन्ध मिलाइएको बताए ।
000
नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर सोमबार स्वदेश फर्किएको छ । १९औं एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एशियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १–१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमार्पmत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो । दोस्रो खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित निकालेको थियो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले स्वागत गरे ।
000
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् । नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी भएका अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए । उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए ।
यो पनि पढ्नुहोस
000
काठमाडौं महानगरपालिकाले सवारीसाधन पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारीसाधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारीसाधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन् । सोमबार अपरान्ह न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले आम सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारीसाधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेकोस्पष्ट पारिन् ।
000
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहालको हालैसम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीविहरुलाई समेत आग्रह गरे । त्रिभुवन विश्वविद्यालय नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए ।
000
प्रतिनिधिसभाकी पूर्वउपसभामुख पुष्पा भुसालले महिलासम्बन्धी संघ, संगठनलाई स्वावलम्बि बनाउने गरी आवश्यक बजेटको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेकी छिन् । सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मुलन गर्ने समिति–सिडको सदस्य राष्ट्र भएकाले नेपाल सरकारले महिलासम्बन्धि संघ, संगठनका लागि आवश्यक नीति र बजेटको अभाव हुन दिन नहुने पूर्वउपसभामुख भुसालले स्मरण गराइन् । उनले महिला विरुद्ध हुने भेदभाव उन्मूलन सम्बन्धि कानुनको परिमार्जन र त्यसको कार्यान्वयनका निम्ति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगको कामबारे अनुगमन गर्न पनि संघीय संसद र विषयगत समितिलाई आग्रह गरिन् ।
000
सरकारले खुला सीमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतीको रुपमा रहेको बताएको छ । गृह मन्त्रालयले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरे बमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी दुई देशसँग खुला सीमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएको हो । सोमबार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाइन् । सो विवरणमा खुला सीमानाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार लागुऔषध ओसारपसार र सीमा पारीबाट अपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवम् अन्य अपराधिक घटना घटाउने चुनौती रहेको उल्लेख गरिएको छ । सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको जनाएको छ । नियमित रुपमा सीमावर्ती समकक्षीसँग बैठक गरी अन्तर सीमा अपराध नियन्त्रण लगायतका विषयमा समन्वय गरिएको उल्लेख छ । त्यस्तै सीमा स्तम्भहरुको नियमित रुपमा अनुगमन गरी भत्किएका, बिग्रिएका सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको सरकारको विवरणमा बताइएको छ ।
000
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत निर्माण गर्दागर्दै भाँचिएको कमला नदीस्थित पुलको स्थलगत अनुगमन गरेका छन् । आइतबार मन्त्री ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भाँचिएको पुलको स्थलगत अनुगमन गरेका हुन् । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि त्यहाँका स्थानीयहरुले दुई वर्षदेखि सास्ती भोगिरहेका छन् । पुल भाँचिएसँगै पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्नुपर्दा कम समयमा पुगिने ठाउँमा पनि धेरै समय लग्ने गरेको छ । मन्त्री ज्वालाले पुलको स्थलगत अनुगमन पश्चात् छिटै पुल निर्माण गरी स्थायी समाधान खोज्ने निष्कर्षमा पुगेको बताए ।