News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज आइतबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

असार ३१ गते आइतबार राजनीति, सुरक्षा अपराध, सामाजिक, अर्थलगायत विषयका समाचार मुख्य मुख्य बनेका छन् । ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटेको, राजधानीमा सहकारी पीडित र प्रहरीबीच झडप, रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध, ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति जस्ता समाचार आइतबार मुख्य मुख्य बने । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण, नेपालद्वारा बंगलादेश पराजित, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको समाचार पनि मुख्य मुख्य बने । 

000

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भयो । ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई बैठकमा पेश गरेपछि ती पार्टीले विरोध जनाए । रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए । प्रमुख सचेतक परियारले सो विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाए । सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराएका थिए । तर रास्वपा र राप्रपाका सांसदले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

000

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बंगलादेशलाई पराजित गरेको छ ।बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बंगलादेशलाई टाइब्रकेरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट पुगेको हो । टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही र अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो । नेपालले चीनको होङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीस्वरूप पनि उक्त मैत्रीपूर्ण खेल खेलको हो ।

000

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर पुनः पक्राउ परेका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तुलाधरलाई पक्राउ गरेको हो । ब्यूरोका एसएसपी दिनेश आचार्यले तुलाधारलाई अदालतबाटै नियन्त्रणमा लिएको पुष्टि गरे ।

000

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आइतबार आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

000

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गर्ने निर्णय भएको छ । सरकारले आज राति १२ बजेदेखि लागु हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको हो । योसँगै सरकारले एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने जनाएको छ । डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने वाणिज्य सचिव मधुकुमार मरासिनीले जानकारी दिए । भारतबाट मूल्य घटेर आएको छ । योसँगै स्वचालित प्रणाली अनुसार आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घट्नेछ । एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाइएको छ ।

000

ललिता निवासको सरकारी जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आरोपीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।  उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

000

नेपाली कांग्रेसले सूचना, सञ्चार तथा प्रचार विभागमा तीन जना सदस्य थप गरेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा आइतबार तीन जना सदस्य थप गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । लमजुङका सन्तोष न्यौपाने, कञ्चनपुरका अशोक शर्मा र रौतहटका सुमन गौतम प्रचार विभाग सदस्य भएका हुन् ।

000

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरू ११ वर्षीय सुशील गुरुङ तथा ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जंगली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २१:१०
Weather Update