
ताप्लेजुङ— मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढीपहिरोले यही असार २ गते हेवा खोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो ।
बाढीपहिरोले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो । लामो समय मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जान समस्या हुँदै आएको थियो ।
ताप्लेजुङदेखि पाँचथरको जिल्लाको हेवाखोलासम्म वारि मात्र गाडी पुग्थ्यो । वारिबाट तुइन र फड्के पुल तरेर खोलापारि पुगेर अर्को गाडी खोजेर अन्य जिल्ला जानुपर्ने बाध्यता थियो ।
ताप्लेजुङमा आवश्यक दैनिक सामग्री ढुवानी हुन नसक्दा खाना पकाउने ग्यास, पेट्रोलिय पर्दाथलगायत आवश्यक खाद्यान्न पदार्थको अभाव झेल्नुपरेको थियो ।
सवारीसाधनको आवागमन नहुँदा ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न आउने तीर्थयात्री प्रभावित हुँदै आएका थिए ।
वैकल्पिकरूपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरी सवारीसाधनको सहज आवतजावत भइरहेकोमा आइतबार साँझदेखि बेलिब्रिज सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी गौरव ढुङ्गेलले बताए ।