
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन् ।
आइतबार संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा सिकेको बताए ।
उनले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको बताए ।
उनले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए ।
उनले मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वभाविक हुने बताए ।
उनले भने,‘मैले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको हो । हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भेनेको छैन । प्रतिस्पर्धा गर्ने बेलामा मैले आफूलाई योग्य ठानेर नै प्रतिस्पर्धा गरेको हो । यो बीचमा मेरो योग्यता घटेको जस्तो मलाई लाग्दैन । मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो । संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्नेकुरा पार्टी सभापतिबाटै सिकेको हुँ । गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन,त्यसरी नै लागेको हुँ । सामान्य कुरा हो ।’