News Griha :: न्यूजगृह
बाढीले अवरुद्ध सङ्खुवासभा र पाँचथरको सडक खुलाउन सरकारले थाल्यो पहल, ५० करोडको भौतिक क्षति  

काठमाडौं—  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक, पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्वालाले सङ्खुवासभापाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताएका हुन् ।

उनले सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको बताए र उनले बाढी पहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षतिसमेत भएको बताए ।

मन्त्री ज्वालाले क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि सुरुआत गरेको बताए । उनले १० दिनभित्रमा बेलिब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको पनि बताए । मन्त्री ज्वालाले बाढीको कारण क्षति भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरूलाई मन्त्रालयले निर्देशन दिएको समेत बताए र मन्त्री ज्वालाले सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको पनि सदनमा जानकारी गराए ।

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:३५
Weather Update