
पाँचथर— फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा परि हिलिहाङ गाउँपालिका– ७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका– ११ का २८ वर्षीय सन्जोग लिम्बू र फिदिम– ५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । त्यस्तै फिदिम– ४ र हिलिहाङ– ७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम– ४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।
बाढीले याङवरक गाउँपालिका– २ फलैँचाका रामप्रसाद राईको एक तले घर, चन्द्र बेघाको दुई तले घर र एक तले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ ।
फिदिम– ४ र हिलिहाङ– ७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलिब्रिज) बाढीले बगाएको छ । त्यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।
बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका– ३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम– ३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ । वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका– ४ वनथाकमा सडक अवरुद्ध भएको छ । त्यस्तै फाल्गुनन्द– ७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
सडक सम्पर्कविच्छेद
भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट जिल्लाका दुई गाउँपालिका र ताप्लेजुङसँगको सडक सम्पर्कविच्छेद भएको छ । गएराति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ– ७ जोड्ने हेवाखोला पुल बगाएको छ ।
बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । २०४२ सालमा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गएरातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो ।
त्यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलिब्रिज (फलामकोपुल) पनि बाढीले बगाएको छ । फिदिम– ४ र हिलिहाङ– ७ लाई जोड्ने बेलिब्रिजका सबै संरचना बाढीमा बगेका छन् । दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ तथा पाँचथरको हिलिहाङ र याङवरकगाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ ।