News Griha :: न्यूजगृह

काठमाडौं— नेकपा एमाले सांसद योगेश भट्टराईले सङ्खुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाहरूमा बर्सातसँगै गएराति आएको बाढी र पहिरोबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

सङ्खुवासभा, ताप्लेजुङलगायतका जिल्लामा बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै भट्टराईले सो घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसद्लाई जानकारी गराउनुपर्ने बताएका हुन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले बाढी, पहिरो पीडितलाई राहत र उद्धार कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

भट्टराईले भने,  ‘म सभामुख महोदयमार्फत् नेपाल सरकारको यस विषयमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । विशेष गरी यो स्थितिको सम्पूर्ण जानकारी यो सम्मानित सदनमा सरकारको तर्फबाट संसद्लाई जानकारी होस भनेर म माग गर्न चाहन्छु । यो विपदसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीजीले यसको सम्पूर्ण अवस्थाको जानकारी यो सदनमा गराउनु पर्छ भन्ने म सभामुख महोदयमार्फत गृहमन्त्रीजीको म ध्यानाकर्षण गर्न चाहन्छु । त्यसैगरी पुल, सडकहरू क्षति पुगेका छन । त्यसको तत्कालको अवस्था के छ ? भौतिक पूर्वाधार मन्त्रीजीले यस विषयमा सदनमा जानकारी दिन सभामुख महोदयमार्फत माग गर्न चाहन्छु । र, तत्कालै बेलिब्रिजको व्यवस्था गरिकन, झोलुंगे पुलहरुको व्यवस्था गरिकन आवागमनलाई सहज बनाउनका लागि पनि म सभामुख महोदयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । भत्किएका सडकलाई तत्काल सुचारू गर्नुपर्ने अवस्था छ । त्यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु । र पीडितहरूलाई आवास र खाद्यान्नको संकट छ । त्यसैले आवश्यक र खाद्यान्नको तत्काल व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सचिव भट्टराईले सो घटनाका कारण क्षतिग्रस्त पुल, सडक सुचारु हुनेगरि आवश्यक व्यवस्था मिलाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:२८
Weather Update