
काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन नमानेको हो।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामछिानेलाई पनि टी–२० विश्व कप खेल्ने टोलीमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो। नेपाली टोली अमेरिका पुगिसकेको छ। तर, दूतावासले भिसा दिन नमान्दा लामिछाने जान पाएका छैनन्।
टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन दूतावासबाट अस्वीकार यसअघि पनि भएको थियो। बुधबार सन्दीपका समर्थकहरुले सन्दीपलाई भिसा नदिएको भन्दै विरोध प्रदर्शन समेत गरेका थिए।
यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन। त्यसबेला पनि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर भिसा दिएको थियो।
टी–२० विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका छन्। नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सँग खेल्दै छ।