
काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ।
बुधबार अपरान्ह लामिछानेले आफूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका हुन्।
गत जेठ २ गते उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्न पठाउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेकोमा अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो।
‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्यो। दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ। नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्।
अमेरिकाले भिसा दिएको भए सन्दीप आजै अमेरिका उड्ने तयारीमा रहेका थिए।
विश्वकपको तयारीका लागि सन्दीपले किर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास गरिरहेका छन्।
उनलाई विनोद भण्डारीलगायत अन्य खेलाडीले साथ दिएका थिए।
टी–२० विश्वकप आगामी जुन १ देखि सुरु हुँदैछ। यो प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।