News Griha :: न्यूजगृह
भारतविरुद्ध श्रृंखला जितसहित अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
Photo: AP/RSS

काठमाडौं— अस्ट्रेलियन क्रिकेट टोली विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै श्रृंखला ३-१ ले जितेको अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा लगातार दोस्रोपटक पुगेको हो ।

भारतले चौथो इनिङमा दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको सेसनमा ४ विकेटको क्षतिमा पूरा गर्दै श्रृंखला ३-१ ले कब्जा गर्‍यो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित ३४ तथा बेउ वेबस्टरले अविजित ३९ रन बनाए । उसमान ख्वाजाले ४१ रन बनाए । भारतका प्रसिध कृष्णाले तीन तथा मोहमद सिराजले एक विकेट लिए ।

त्यसअघि आफ्नो दोस्रो इनिङ सुरू गर्नुपूर्व ४ रनको अग्रता भएको भारतले थप १५७ रन जोड्दा अलआउट भयो । भारतका रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशश्वी जैसवालले २२ रन बनाए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए । पहिलो इनिङमा ४ विकेट लिएका उनले टेस्ट करियरको पहिलो १०-विकेट फिगर पनि हासिल गरे ।

भारतले अन्तिम टेस्टमा टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिनमै १८५ रनमा अलआउट भएको थियो । जवाफमा अस्ट्रेलिया १८१ रनमा अलआउट हुँदा भारत ४ रनको अग्रतासहित १५७ रनमा अलआउट हुँदा अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।
पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो र चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने तेस्रो टेस्ट ड्र भएको थियो ।

टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ । दक्षिण अफ्रिकाले पहिलोपटक टेस्ट च्याम्पियनसीपको फाइनल खेल्ने छ ।

वर्ल्ड टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आगामी जुन महिनामा हुँदै छ । सन् २०१९ देखि सुरू भएको टेस्ट च्याम्पयनसीपमा हालसम्मका दुई संस्करणमध्ये न्युजिल्याण्ड र अस्ट्रेलियाले एक-एकपल्ट जितेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०९:२७
Weather Update