News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अनमोल अभिनीत ‘फर्की फर्की’ को ट्रेलरले बनायो किर्तिमान, दुई दिनमै २२ लाख पटक हेरियो 

काठमाडौं— गत बिहीबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ।  कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो फिल्मको ट्रेलरले दुई दिनमै २२ लाख (२ मिलियन) बढि पटक हेरिएको किर्तिमान पनि राखेको छ।

ट्रेलरलाई हालसम्म युट्युबमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन्। झण्डै सय प्रतिशतको आसपासमा सकारात्मक प्रतिक्रिया पाएको ट्रेलरले अनमोलको स्टारडम र नेपाली फिल्मको ‘हिरोइज्म’ लाई कायम राख्न सफल देखिन्छ। अधिकांश प्रतिक्रियामा दर्शकले अनमोल लभर ब्वाइको रूपमा ब्याक भएकोमा स्वागत गरेका छन् भने उनको नयाँ फिल्म छिटो हेर्न आतुर रहेको प्रतिक्रिया उत्तिकै व्यक्त छन्। ट्रेलरमा जोडिएको अनमोल र अभिनेत्री जसिता गुरुङको प्रेम प्रसङ्ग र नेपाली फिल्ममा पहिलोपटक देखाउन खोजिएको ‘टाइम लुप’ लाई दर्शकले व्यग्र प्रतीक्षा गरेको संकेत ट्रेलरमा प्राप्त प्रतिक्रियाबाट बुझिन्छ। 

Prabhu Bank

निर्माता रोहित अधिकारीले फिल्मप्रति ट्रेलर हेरेर नै दर्शकले देखाएको चासो र व्यक्त गरेको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको बताए। युवापुस्तामा सर्वाधिक लोकप्रिय रहेका अभिनेता अनमोलले दर्शकले मन पराउने कथा रहेकैले र लगातार गरिरहेका फिल्म भन्दा केही भिन्न प्रकारको कथा रहेकोले ‘फर्की फर्की आफ्नो लागि विशेष रहेको बताए। 

यसैबीच फिल्मको ट्रेलरले प्राप्त साथ र प्रतिक्रियाले फिल्मको वैदेशिक प्रदर्शनमा उछाल आएको छ। निर्माता अधिकारीले ट्रेलर रिलिजपछि नेपालीहरू बसोबास गर्दै आएका दर्जन बढि देशहरूबाट फिल्मको माग आएको बताए। केही देशहरूमा फिल्मको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको र धेरैमा कुरा अघि बढिसकेको बताउँदै रिलिज पहिले नै फिल्मले ७५ प्रतिशत लगानी सुरक्षित गर्ने बाटोमा गएको अधिकारीले बताए।

फिल्मको आधिकारिक सामाजिक सञ्जालबाट विदेश प्रदर्शन अधिकारको अपडेट सार्वजनिक गर्दै जाने उनले बताए । वैदेशिक प्रदर्शन अधिकार, डिजिटल अधिकार र फिल्मसँग जोडिएका ब्रान्डबाट प्राप्त रेभिन्युले फिल्म रिलिज सँगसँगै नाफाको बाटोमा जान लागेको उनको दाबी छ। 

farki_farki-1713442699.jpg
सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसितासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भूमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुवैको लागि यो फिल्म डेब्यु रहनेछ । रोहित अधिकारी फिल्मस्ले ओएसआर डिजिटलको सहकार्यमा फिल्म निर्माण गरेको हो। नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ। निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले प्रदर्शन अधिकार खरिद गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:२९
Weather Update