News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
फर्की फर्कीः ट्रेन्ड सेटर फिल्म बन्ला? 
फिल्म फर्की फर्कीको ट्रेलर वान सार्वजनिकपछि अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ। तस्बिर: न्यूजगृह

नेपालमा कस्ता फिल्म बन्छन्?
पछिल्ला दिनहरूमा नेपाली हलहरूमा छाइरहेका फिल्महरूको मेकिङ र कथावस्तु हेर्दा लाग्छ, नेपाली फिल्महरूले समाजको कथालाई अत्याधिक आत्मसात गरेका छन्। दर्शकले दैनन्दिन जीवनमा जस्ता समस्या भोग्छन् र जसरी बाँच्छन्, त्यही जीवनशैली हलमा फिल्म हेर्दा पनि पाइरहेका हुन्छन्। 

जसै नेपाली फिल्म उद्योगमा फिल्म कलेजबाट पासआउट मेकर र रङ्गमञ्चबाट उदाएका कलाकारहरूको बोन्डिङ सुरु भयो, त्यसपछि प्राय जीवन र समाजसँग जोडिएका फिल्महरू अत्याधिक बन्न थाले। तर अझै पनि नेपाली फिल्मले बलिउडको फर्मुला फिल्मको फ्रेम भने छाडिसकेको छैन। नेपाली फिल्मको आफ्नै कथ्य शैली छैन भनेर बेलाबेलामा चर्चा हुँदै आएको पनि छ।

त्यसो त नेपालमा कुनै फिल्म चल्यो भने त्यसैको सिको गर्दै लस्कर लाएर फिल्म निर्माण हुँदै आएको कुरा नौलो होइन। कुनै बेला लुट हिट हुँदा सोही शैली अपनाएर थुप्रै फिल्महरू बने। तर लुट फिल्म तत्कालीन समयमा दर्शकको मनमा जसरी बस्यो, त्यो लेभलमा अर्को कुनै फिल्मले दर्शकको मन जित्न सकेन। पछिल्लो समय हलमा आएका अधिकांश फिल्महरू एकैनासका कथा र उस्तै पात्रहरू, धेरैपटक त तिनै कलाकारहरू दोहोरिँदा दर्शकमा एकखालको वैराग्य देखिन थालेको छ।  

Prabhu Bank

फिल्मलाई समाजको ऐनाको रुपमा पनि लिने गरिन्छ। मनोरञ्जन सँगसँगै फिल्मले सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई पनि पर्दामा ल्याउन जरुरी हुन्छ। फिल्म यस्तो एउटा आँखिझ्याल हो, जसले मनोरञ्जन मात्र पस्कँदैन, बरु हामीलाई अर्कै संसारको विचरण पनि गराउन सक्छ। र, गराउन सक्नुपर्छ। फिल्म मेकिङको सन्दर्भमा संसारभर अत्याधिक रुचाइएको र अपनाइएको शैली भनेको ‘लार्जर द्यान लाइफ’ शैली हो। यही शैलीभित्र विभिन्न जनरामा फिल्महरू बन्छन्। त्यसो त नेपालमा केही सीमित जनरामा मात्र फिल्महरू बन्दै आएका छन्। चलचित्र पत्रकार संघ कास्की शाखाले केही समय अगाडि सिक्लेसमा गरेको सिनेमा संवाद कार्यक्रममा निर्देशक, लेखक तथा स्क्रिप्ट डाक्टर मनोज पण्डितले भनेका थिए, ‘नेपाली फिल्म उद्योगमा जतिसक्दो धेरै जनरामा फिल्म बन्नु जरुरी छ। यसो भयो भने मात्र नेपाली फिल्मको विकास हुन्छ।’

नेपाली फिल्मको मेकिङ शैली हेर्ने हो भने पछिल्लो समय सामाजिक विषयवस्तु बोकेका कमेडी जनराका फिल्महरूले राम्रो व्यापार गर्दै आएका छन्। र, धेरै मेकर्सले त्यस्तै शैलीलाई पछ्याउँदै फिल्म निर्माण गरिरहेका पनि छन्। जसले एकै खालको दर्शकलाई मात्रै हलसम्म तानिरहेको छ। तर नेपाली फिल्मको यस्तो एकाङ्की शैलीले बिस्तारै दर्शकको संख्या झन् घटाउँदै गइरहेको संकेत गर्छन् निर्देशक सुयोग गुरुङ। ‘टिनएजर्स पुस्ता जो अहिले विश्वका चर्चित स्ट्रिमिङ च्यानलबाट आफूलाई चाहेको जनराको फिल्म हेरिरहेको छ, त्यो पुस्तालाई मन पर्ने नेपाली फिल्म हामीले किन नबनाउने?,’  उनी भन्छन्, ‘कोही न कोहीले त आँट गर्नुपर्यो नि।’ 

anmol_jasita_farki_farki-1713539490.jpg
फ्यान्ट्यासी रोमान्स: फर्की फर्की 
नेपाली फिल्म फर्की फर्कीले बिहीबार बिग सिनेमाज्मा विशेष समारोहकाबीच फिल्म फर्की फर्कीको ट्रेलर वान सार्वजनिक गर्यो। अनमोल केसी लामो ग्याप पछि यही फिल्ममार्फत दर्शकहरूमाझ आउनेछन्। जसै फिल्मको ट्रेलर सार्वजनिक भयो, त्यसपछि कार्यक्रमस्थलमा यो फिल्मको जनरालाई लिएर सञ्चारकर्मीले चासो व्यक्त गरे। सार्वजनिक ट्रेलर हेर्दा अभिनेता अनमोल केसी यो फिल्ममा एउटा सुपर पावर भएको युवाको भूमिकामा छन्। म्याडी उनको नाम हो। र, उनीसँग समय रोकेर पछाडि फर्कने विशेष खुबी छ। जो आफूलाई भगवान भएको ठान्छन्। म्याडीमा आएको विशेष शक्तिले उनको दैनिक जीवन, साथीभाइ, प्रेममा कस्तो प्रभाव पार्छ? सार्वजनिक ट्रेलरले फिल्मको कथा यस्तै भएको संकेत गर्छ।  

विश्व फिल्म उद्योगलाई हेर्ने हो भने ‘फ्यान्ट्यासी’ जनरा नौलो होइन। बलिउडमा पनि यो जनरामाथि थुप्रै फिल्म बनेका छन्। हलिउडलाई हेर्ने हो भने त झन् ‘फ्यान्ट्यासी’ नै उसको मूल जनरा हो भन्दा फरक नपर्ला। तर नेपालका लागि यो जनरा दर्शकको लागि नौलो जनरा हो। यो नेपाली फिल्म क्षेत्रको लागि नौलो प्रयोग हो।

‘यो शैलीले नेपाली फिल्म मेकिङलाई फरक ठाउँमा ल्याउन सकोस् भन्ने चाहन्छु। जस्तो कुनै बेला लुट आउँदा त्यो बेलामा त्यो मेकिङ शैली भिन्न थियो। तर जसै हलमा आयो दर्शकले त्यसलाई आत्मसात गरे। त्यो शैलीले नेपाली फिल्मको ट्रेन्ड नै सेट गर्यो,’ फिल्म फर्की फर्कीका निर्देशक तथा लेखक सुयोग गुरुङ भन्छन्, ‘त्यसैले ट्रेन्ड सेटर बन्नका लागि केही चुनौती त मोल्नै पर्यो नि। यो शैलीको फिल्ममा लगानी गरेर मेरा निर्माता रोहित अधिकारीले पनि ठुलै चुनौती उठाउनुभएको छ। दर्शकले हामीले देखाउन खोजेको शैलीलाई अवश्य रुचाउनेछन्।’ 

अनमोल भर्सेज म्याडी
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलमाथि प्रश्न आयो, टाइम ट्राभलर म्याडी र अनमोलबीच के फरक छ? अनमोलले भने, ‘म्याडी र मबीच धेरै फरक छ। म्याडी सँग सुपर पावर छ। म सँग छैन। म्याडीसँग प्रशस्तै गर्लफ्रेन्डहरू छन्। म सँग छैनन्, बरु केही फ्यानहरू चाहिँ हुनुहुन्छ।’  

अनमोलका अनुसार टाइम ट्राभलर म्याडीले केही गल्ती गरेको खण्डमा विगतमा फर्केर आफ्नो गल्ती सच्याउन सक्छ। तर अनमोल आफू त्यही गल्तीहरूकै जगमा आजको ठाउँमा आएकोले विगतमा फर्केर ती गल्ती सच्याउने कुरामा आफूले विश्वास नगर्ने बताउँछन्। बरु उनी गल्ती सुधार्ने पक्षमा छन्। उनले भने, ‘म सँग अहिले अरुको जस्तो १० वटा फिल्म पाइपलाइनमा छैन। यो फिल्मपछि अर्को कुन फिल्म गर्छु त्यो पनि मलाई थाहा छैन।’

यो फिल्म प्रदर्शन पश्चात दर्शकले दिने प्रतिक्रियापछि मात्रै आफूले भविष्यको यात्रा तय गर्ने उनले बताए। यसअघि छड्के २ फिल्म गर्दा अनमोलले पाएको प्रतिक्रिया र फिल्मको उदेकलाग्दो व्यापारको झड्का अनमोलले शायद भुलेका छैनन्। फर्की फर्की प्रदर्शनका लागि प्रचारप्रसारमा हिँडिरहँदा अनमोलले नेपाली फिल्मको यात्रा तय गरेको ठ्याक्कै एक दशक पुग्यो। यो उनको १० औं फिल्म हो। फिल्म जेठको १० गतेबाट हलमा प्रदर्शन हुँदैछ।  

anmol_jasita_farki_farki_4-1713539489.jpg
अनमोल-जसिता जोडी
नेपाली फिल्ममा केही आशा लाग्दा अभिनेत्रीहरू छन्। जसमा जसिता गुरुङ पनि आउँछिन्। पोखरा घर भएकी यी अभिनेत्री यूके ‘बेस्ड’ अभिनेत्री हुन्। कारण, उनको परिवार यूके मै बस्छ। जसिता भने अहिले नेपालमै बस्छिन्। यसअघिको फिल्ममा अभिनेता प्रदिप खड्कासँग फिल्म ‘लिलीबिली’ र धिरज मगरसँग ‘इन्टु मिन्टु लन्डन’मा जोडी बाँधेकी जसिता यो पटक अभिनेता अनमोलसँग फिल्ममा रोमान्स गर्दैछिन्।

ट्रेल रिलिज कार्यक्रममा अनमोल र जसिताको जोडीलाई सञ्चारकर्मीले निकै रुचाएको प्रतिक्रिया दिए। जसिता पनि अनमोलसँग काम गर्न पाउँदा आफू निकै खुशी भएको प्रतिक्रिया दिइन्। ‘उहाँ वास्तवमै सुपरस्टार हो। उहाँसँग काम गर्न पाउँदा म निकै खुशी छु,’ उनले भनिन्।

पछिल्लो समय अनमोल र जसिताबीच प्रेम रहेको चर्चा पनि चल्ने गरेको छ। यद्यपि, अनमोलले जसिता र आफू मिल्ने साथी मात्रै भएको बताए। जसितासँग काम गर्दा आफूलाई पनि खुशी लागेको अनमोलले बताए। 

फिल्म फर्की फर्कीलाई रोहित अधिकारी फिल्म्सले निर्माण गरेको हो। मनोज वली र रामु न्यौपाने फिल्मका सहनिर्माता हुन्। ओएसआर डिजिटलसँगको सहकार्यमा बनेको फिल्ममा अनमोल, जसितासँगै नवअभिनेता रवि काफ्ले र अभिनेत्री सम्बृद्धि अर्यालकोसमेत अभिनय छ। फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन्। मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्। थियट्रीकल ट्रेलर एडिटर भने शाहिल खान हुन्। फिल्मको व्यवस्थापक शंकर पाण्डे हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:१५
Weather Update