News Griha :: न्यूजगृह
दुई कैदीबन्दी मृत्यु प्रकरण : लछारपछार गरेको दृश्य सीसीटीभीमा देखिएपछि १० प्रहरी पक्राउ 

काठमाडौं— सङ्खुवासभामा दुई जना कैदीबन्दीको मृत्यु भएको घटनामा १० जना प्रहरी पक्राउ परेका छन् ।

सङ्खुवासभाको मादी नगरपालिका— ५ का १९ वर्षीय विनोद तोलङ्गी र नुवाकोटको ककनी गाउँपालिका— ७ का २८ वर्षीय आकाश बलामी बुधबार बिहान कारागारमा अचेत भेटिएका थिए ।

उनीहरूलाई जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटना हुँदा ड्युटीमा रहेका १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलले जानकारी दिए ।  

नियन्त्रणमा लिइएका प्रहरीको नाम भने उनले सार्वजनिक गर्न मानेनन् । एसपी कँडेलका अनुसार पक्राउ पर्नेमा घटना भएको समयमा ड्युटीमा रहेका प्रहरी कर्मचारी छन् । 

 घटनाको शंकास्पद रहेकाले अनुसन्धानका लागि सोही दिन सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन भएको थियो । पछि प्रदेश प्रहरी कार्यालयका एसपी कँडेलको नेतृत्वमा ४ सदस्यीय र कारागार व्यवस्थापन  विभागका अधिकृत कमल पाण्डे नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएर घटनाको अनुसन्धान भइरहेको छ ।

छानबिन समितिमा रहेका एक सदस्यका अनुसार सीसीटीभी फुटेजमा केही प्रहरीले कैदीबन्दीलाई लछारपछार र कुटपिट गरेको दृश्य देखिएको छ। त्यसबारेमा सम्बन्धित प्रहरीमाथि सोधपुछ र अनुसन्धान भइरहेको एसपी कँडेलले बताए ।

‘शुक्रबार साँझसम्म ठोस विवरण खुल्ने गरी काम गरिरहेका छौं । पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने । त्यस्तै, घटनाको अनुसन्धानका लागि ९ जना कैदीबन्दीलाई पनि नियन्त्रणमा लिइएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:३७
Weather Update