
सङ्खुवासभा— जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरूका परिवारले शव बुझ्न अस्वीकार गरेका छन् ।
प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न अस्वीकार गरेको हो ।
कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ ।
कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवै जनालाई कुटपिट गरेको आरोप लगाउँदै आएको छ ।
प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । दोषी प्रहरीमाथि कारबाही हुनु पर्ने कैदीबन्दीले माग राखेका छन् ।
कैदीको मृत्युपछि कारागारको अन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका नौ बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए ।
जिल्ला अदालतले बलात्कारको मुद्दामा तोलाङ्गीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो । दुवै जना एक वर्षदेखि उक्त कारागारमा रहँदै आएका थिए ।