
काठमाडौं— सङ्खुवासभा कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकास बलामी छन् ।
गएराति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी प्रशासनलाई बुझाएको डीएसपी वीरेन्द्र गोदारले बताए। त्यसको केहीबेरमा कैदीबन्दीबीच कुटाकुट भएको प्रहरीले जनाएको छ। उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेका थिए । जिल्ला अस्पतालमा उनीहरुको मृत्यु भएको हो ।
कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन
दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।