
काठमाडौं— नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा बिहीबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परे ।
योसँगै बहालवाला सांसद नै पक्राउ पर्नेको संख्या तीन पुगेको छ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार दिउँसो काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।
मोरङमा नोवेल मेडिकल कलेज सञ्चालन गर्दै आएका शर्माको प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेको थियो ।
भारतबाट किनिएको नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेको भन्दै शर्माविरुद्ध उजुरी परेको थियो । शर्मा पक्राउको जानकारी प्रहरीले सभामुखलाई दिएपछि उनी निलम्बनमा पर्ने छन् । सभामुखले संसद् बैठकमा सूचना सुनाएपछि मात्र सांसदको पद निलम्बनमा पर्ने प्रतिनिधि सभा नियमावलीमा व्यवस्था छ ।
शर्मा पक्राउ परेसँगै पछिल्लो प्रतिनिधि सभा गठन भएको ८ महिनाको अवधिमा तीन जना सांसद पक्राउ परेका छन् । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परिसकेका छन् । गत वैशाख ३१ गते काठमाडौंबाट पक्राउ परेका रायमाझी पुर्पक्षका लागि थुनामा छन् ।
अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित सांसद रायमाझीको निलम्बनका लागि संसद्को कार्यसूची बने पनि बैठक नचल्दा सभामुखले उक्त सूचना पढेर सुनाउन पाएका छैनन् । भ्रष्टाचारको मुद्दा खेपेका मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी भने फरार छन् । उनीमाथि हत्या आरोप छ । महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद कोइरीले सांसद पदको सपथ लिन पाए भने गुरुङले पाएनन् ।
प्रतिनिधि सभा बैठकका केही दिन उपस्थित भएका कोइरी सम्बन्धमा प्रश्न उठेपछि फरार भएका हुन् । थरुहट आन्दोलनका ट्याक्टर जलाएको मुद्दामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी भने छोटो समयमै रिहा भएका थिए । गत माघ १९ गते कैलालीबाट पक्राउ परेका सांसद चौधरी प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका हुन् । उनी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।