
काठमाडौं — बिहीबार दिउँसो नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परे ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । पछिल्लो समय शर्माले एक सय केजी सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने तथा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।
उनी सत्ता पक्षका सांसद भएपनि माग भने प्रमुख प्रतिपक्षीसँग मिल्छ । प्रमुख प्रतिपक्षी भने अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाबाट पछि हटिसक्यो तर शर्मा सोही मागमा अडिग छन् । माग पुरा नभए संसद्मै अनशन बस्छु भन्दै उनले चेतावनीसमेत दिएका छन् । उसो त शर्माको नाम सुन तस्करी प्रकरणमासमेत मुछिएको छ । यसबारे भने पुष्टि हुन सकेको छैन । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको नाम सुन तस्करी प्रकरणमा जोडिएपछि शर्माको नामसमेत उक्त प्रकरणमा मुछिएको हो । किनभने शर्मा र पुन व्यापारिक साझेदार हुन् ।
त्यसैले धेरैले तस्करीमा समेत उनीहरूको मिलेमतो हुन सक्ने आशंका गरेका हुन् । अहिले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै गरिरहेको छ । तर शर्मा भने सुन तस्करी प्रकरणमा पक्राउ परेका होइनन् ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा सीआईबीले उनलाई पक्राउ गरेको हो । भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले दाबी गर्यो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् ।
सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ । त्यतिबेला सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसको १ वर्षपछि ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।
२०७७ सालमा पश्चिम चौरजहारी अस्पतालमा कार्यरत डा. दीपेन्द्र गौतमसहित ७ जना पक्राउ परेका थिए । पछि फेरि २०७८ सालमा ७ जना नक्कली डाक्टर पक्राउ परे ।
शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । शर्मा कांग्रेस नेता शेखर कोइराला पक्षका मानिन्छन् ।