News Griha :: न्यूजगृह
सय किलो सुन प्रकरणमा गृह मन्त्रीको राजीनामा माग्ने सांसद पक्राउ

काठमाडौं— एक सय किलो सुन तस्करी प्रकरणमा आवाज उठाउने नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

साउन २ गते हङकङबाट आएको मोटरसाइकल र स्कुटीको ‘ब्रे सु’मा लुकाएर ल्याएको एक सय किलो सुन प्रकरणमा खराे प्रतिवाद गरेका उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोल्फुटास्थित निवासबाटै पक्राउ गरेको हो ।

उनले सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको संलग्नता रहेको भन्दै राजीनामा मागेका थिए । उनले मन्त्रीद्वय श्रेष्ठ र महतमाथि प्रतिनिधि सभा बैठकमै प्रश्न गर्दै राजीनामा दिनु पर्ने बताएका हुन् ।

साउन १० गते बसेको संसद बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणमा भरियालाई मात्रै पक्राउ गरिएको भन्दै असन्तुष्टि व्यक्त जनाएका थिए ।

सुन तस्करी प्रकरणमा मुख्य दोषीलाई पक्राउ गर्न नसकेको भन्दै शर्माले सरकारमाथि प्रश्न गरी उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेका थिए । उनले संसदमा अनशन बस्नेसम्मको चेतावनी दिएका थिए । 

यसअघि सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्ने डरले सांसद शर्मा फरार भएको हल्ला चलेको थियो । सुन तस्करी प्रकरणमा माओवादी नेता वर्षमान पुनको नामसमेत जोडिएको छ । शर्मा र पुन व्यवसायिक साझेदार हुन् । विराटनगरको नोबेल मेडिकल कलेज स्थापना कालदेखि नै शर्मा र पुनबीच घनिष्ट सम्बन्ध छ । सुन तस्करी प्रकरणमा तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि वर्षमानको पनि नाम जोडिएको छ ।  

स्रोतका अनुसार गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्ने तथा संसद्मै आमरण अनशन बस्ने धम्की दिएका शर्माले सुन तस्करी प्रकरणको अनुसन्धानलाई प्रभावित बनाउन खोजेका हुन्  । पुनसहित माओवादी नेताहरूको नाम भटाभट सुन प्रकरणमा आउन थालेपछि शर्मा ओशो तपोवनमा समेत पुगेका थिए ।   

 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:२२
Weather Update