News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बिहीबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

साउन १८ गते बिहीबार राजनीति, समाज, कानूनलगायतका विषयमा मुख्य मुख्य समाचार बने । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको खबर मुख्य बन्यो । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उठाइएका मुद्दा,सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, डेंगु संक्रमण, राजदूतहरुको संसदीय सुनुवाइका विषयमा पनि मुख्य मुख्य समाचार बने । यी बाहेक बिहीबार बाढीपहिरो, केही नेताका अभिव्यक्ति, मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि मुख्य समाचार बनेका छन् ।

०००

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गते शनिबारदेखि अनिवार्य अवकाश हुँदैछन् ।

०००

संसदीय सुनुवाइ समितिको बैठकले  प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ । बुधबार र बिहीबार बसेको समितिको बैठकको निर्णय सुनाउँदै समितिको सभापतित्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय सुनुवाइ समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सबै ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन भएको जानकारी दिएका हुन् । ‘प्रस्तावित सबै व्यक्तिहरूलाई प्रस्ताव गरिएको पदमा नियुक्तिको लागि संयुक्त संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन गरेको छ,’ उनले भने ।

०००

काठमाडौंको सामाखुसी खोलामा बाढी आएको बेला खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर साजनको शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी कुमोद ढुंगेलले जानकारी दिए । प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बाग्मती नदीको किनारमा शव भेटेको ढुंगेलले बताए ।

०००

डा.सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ । अध्यक्ष राउतले बैठकले सरकारमा सहभागी हुने वा नहुनेबारे ठोस निर्णय गर्ने बताएका छन् । उनले संगठन सुदृढीकरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल हुने बताए ।

०००

सरकार र सहकारीपीडितबीच ७ बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन÷धर्ना बिहीबारदेखि स्थगन गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच बिहीबार छलफल भएको थियो । छलफलबाट सहकारी संस्थाका बचतकर्ताको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाउने सहमति भएको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए ।

०००

सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १०० किलो सुन प्रकरण छानबिनका लागि समिति बनाउँदा सरकारको अनुसन्धान प्रकृयामा प्रभाव पर्ने बताएकी छिन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शमाले सरकारले अनुसन्धान गरिरहेको भन्दै त्यसका लागि समिति गठन गर्नु आवश्यक नभएको बताइन् ।

०००

अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् । वीरगञ्ज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाइमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् । उनले भने, ‘भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका छ,भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नुपर्छ ।’ मुलुकका लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठूलो भूमिका भन्सार र राजस्वकै भएको जिकीर गरे ।

०००

राष्ट्रिय सभाको बिहीबारको बैठक स्थगित भएको छ । नेकपा एमालेको अवरोधपछि बैठक स्थगित गरिएको हो । राष्ट्रिय सभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । बैठक प्रारम्भ हुने बित्तिकै नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाए । उनले यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:५१
Weather Update