
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बिहीबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
असार १० गते बिहीबार राजनीति, कानुन, सुरक्षा अपराधलगायतका विषयका समाचार मुख्य मुख्य बनेका छन् । विशेष गरी १०० किलो सुन तस्करी प्रकरण र कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतको सुनुवाइमै सबैको ध्यान केन्द्रित भयो । त्यसैगरी राष्ट्रिय सभा बैठकमा नेकपा एमालेले १०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन माग गरेको छ । उसले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा समेत माग गरेको छ । कोशी प्रदेश सरकार ढलेको छ । असंवैधानिक रूपमा सरकार बनेको भन्दै परेको रिटमा सर्वोच्चले सुनुवाइ गर्दै अर्को सरकार गठन प्रक्रिया सुरु गर्न आदेश दिएको छ । यी बाहेक बिहीबार राष्ट्रिय सभाबाट मिटरब्याजसम्बन्धी विधेयन पुनः पारित, लघुवित्त पीडितको आन्लोलन, लम्की स्किन रोग, विभिन्न नेताहरूका अभिव्यक्ति मुख्य समाचार बने ।
०००
सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्ने आदेश दिएको हो । थापालाई मुख्यमन्त्री नियुक्तिका लागि सभामुख बाबुराम गौतमले हस्ताक्षर गरी समर्थन गर्नु त्रुटिपूर्ण भएको भन्दै सर्वोच्चले सो त्रुटिपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्नु नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहरेको बताएको छ ।
०००
राष्ट्रिय सभाबाट मिटरब्याजसम्बन्धी ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सभाका सचिव डा.सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधि सभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि बाटो खुलेको छ ।
०००
अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सरकारी निकायले समन्वयकारी रुपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताए । उनले एउटा मात्रैको भूमिकाले राम्रो परिणाम आउन नसक्ने बताउँदै १०० किलो सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताए ।
०००
समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ ।परिषद्को आर्थिक प्रशासन नियमावली २०५० को नियम ६२ (४) मा परिषद्ले आफ्नो स्वामित्वमा रहेका एवम् भोगाधिकार प्राप्त गरेका भवन, जमिन र उपकरण निर्धारित प्रक्रिया अपनाई भाडामा दिनसक्ने व्यवस्था अनुसार भृकुटीमण्डप सञ्चालन कार्यालयबाट उपलब्ध गराएको जमिन, भवन प्रयोग गरी निर्धारित भाडा नतिरेका व्यवसायी उपर असुली प्रक्रिया अघि बढाइएको परिषद्ले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले २०७९ असार मसान्तसम्म असुल उपर गर्नुपर्ने भनि वक्यौतामा राखेका व्यवसायीमाथि परिषद्ले असुली प्रक्रिया अघि बढाएको हो । महालेखाले ५१ जना व्यवसायीको नाममा रहेको वक्यौता ५ करोड ८२ लाख ६४ हजार ७ सय ८६ रुपैयाँ सम्झौता बमोजिम रक असुल गर्न परिषद्लाई भनेको थियो ।
०००
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताए । उनले सामन्तवादका अवशेषहरुको अन्त्यका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए ।
०००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नताबिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनेकुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताए । उनले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभइ यति ठूलो परिणामा सुन तस्करी हुनै नसक्ने बताए ।
०००
राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ । बिहीबार सञ्जालले कार्यालय अघि भेला भइ धर्ना दिएको हो । उनीहरुले बिनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिस्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन सुरु भएको बताए । उनले सरकारले किसानको हकहितविरुद्धका नीतिहरु बनाउँदै गए आन्दोलन झनै चर्काउने चेतावनी दिए ।
०००
लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले आफ्ना मागहरुबारे सरकारको ध्यानाकर्षण गराएको छ । समितिले बिहीबार अर्थ मन्त्रालयका सहसचिवद्वय भुपाल बराल र धनीराम शर्मालाई भेट गरी संघर्षका कार्यक्रम र मागहरुबारे ध्यानाकर्षण गराएको हो ।
०००
पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ । जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन् । तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ । पछिल्लो समय देशभर पशुहरु लम्पी स्किनबाट संक्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुले दिने दूध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ । तर लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरु बताउँछन् । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दूध उमालेर खान सकिने बताए ।