News Griha :: न्यूजगृह
शैलुङ : प्रकृतिको अनुपम छटासँग रमाउन चाहनेहरूका लागि मनमोहक गन्तव्य

काठमाडौं—‘माथिमाथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउने...’शैलुङ पुग्ने जोकोहीलाई कुन्ती मोक्तानको यो गीतको पङ्क्तिले अङ्गालो हाले झै गर्नेगर्छ । हुन पनि बिछट्टै प्राकृतिक छटाले मनमोहक शैलुङले नलोभ्याएको कसलाई होला र? एकपटक पुग्नै पर्ने गन्तव्यमा परिचित शैलुङलाई देख्ने र टेक्नेहरूले स्वर्गको टुक्रा नै मान्ने गरेका छन् ।  

शान्त, शीतल र सुन्दर ठाउँ घुम्न चाहने जोकोहीलाई पनि शैलुङ उत्कृष्ट गन्तव्य बन्ने गरेको छ । नेपाललाई त्यसै पनि धर्तीको स्वर्ग मानिन्छ । त्यही धर्तीको स्वर्गको एक टुक्रा हो— शैलुङ  । रामेछाप र दोलखाको सिमामा रहेको शैलुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय पवित्र भूमि हो । शैलुङ रमणीयताको दृष्टिले मात्र नभइ धार्मिक तथा ऐतिहासिक हिसाबले पनि त्यतिकै महत्वपूर्ण छ । यो हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल पनि हो । साथै सुन्दर पर्यटकीय स्थल पनि । देश विदेशका सबै जात, धर्म र समुदायका लागि रमणीय भ्रमणयोग्य स्थल हो— शैलुङ । 

sailung -11690440757.jpg

समुद्री सतहदेखि ३ हजार १ सय ४६ मिटरको उचाइमा रहेको शैलुङलाई हिउँदमा हिउँले ढाक्छ, वर्षामा कुहिरोले । हिउँदमा हिउँसँग लुकामारी खेल्ने शैलुङ वर्षामा कहिले घामसँग त कहिले कुहिरोसँग लुकामारी खेल्छ । दूबोको गलैँचाले सधैँ आगन्तुकलाई शैलुङले स्वागत गर्छ । अनि विभिन्न जातका फूलले सत्कार गरिरहेको हुन्छ । शैलुङलाई बौद्ध धर्मावलम्बीले बुद्धले पाइला टेकेको पवित्र भूमि मान्ने स्थानीय दावासङ्वु शेर्पा बताउँछन् । हिन्दु धर्मावलम्बीले शैलुङलाई भगवान् शिवको तपो भूमिका रूपमा श्रद्धाभाव प्रकट गर्छन । 

शैलुङ प्राकृतिक रूपमा बनेका सय थुम्काको सङ्गम हो । सधैँ हरियो दूबोले ढाकिने ती थुम्का हिउँदमा हिउँले ढाकिन्छ । ‘शैलुङ सधैँ रसिलो हुन्छ, शैलुङ पुगेको मान्छे त्यसै हँसिलो हुन्छ’, शेर्पाले काव्यात्मक लयमा भने  । विगतमा विकट मानिने अब सुगम बनेको छ । रामेछापको सदरमुकाम मन्थलीबाट दोरम्बा हुँदै शैलुङसम्म कच्ची सडक बनेको छ । अहिले काठमाडौं र तराईबाट सजिलै शैलुङसम्म पुग्न सकिने भएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट शैलुङसम्म कच्ची सडक बनेको छ ।  तराईबाट आउनेले बीपी मार्गको खुर्कोटबाट मन्थली आधा घण्टामा आइपुग्छन् । मन्थलीबाट शैलुङ चार घण्टामा पुगिन्छ । 

Sailung -31690440758.jpg

काठमाडौंबाट शैलुङ जान बीपीमार्ग अन्तर्गत सिन्धुलीको झाँगाझोली रातमाटाबाटसित्खामा रहेको सुनकोशी नदीको पुल तरेर गाल्पा हुँदै पनि पुग्ने सडक बनेको छ । सिन्धुपाल्चोकको मुढे हुँदै दोलखाको कालापानीबाट पनि शैलुङ पुगिन्छ ।रामेछापको बाटो भएर शैलुङ जाँदा खोलाखर्कसम्म गाडी जान्छ । दोलखाबाट कालापानीसम्म आउँछ । दुवै तर्फबाट शैलुङ पुग्न करिब २० मिनेट उकालो चढ्नुपर्छ । उकालो चढ्न रामेछापको खोलाखर्कबाट सिँढी बनाइएको छ । ठाउँ ठाउँमा विश्रामस्थल पनि बनाइएको छ ।  

शैलुङ घुम्न जानेलाई बस्नको लागि दोरम्बा, राजभिर खोलाखर्क लगायतका स्थानमा होमस्टे छन् । दोलखा पट्टी पनि होटेल र होमस्टे छन् । काठमाडौंबाट शैलुङ जाँदा अघिल्लो दिन गएर भोलिपल्ट फर्कन भ्याइन्छ । धार्मिक हिसाबले घुम्न जानेका लागि काठमाडौंबाट जाँदा सिन्धुलीको दुम्जामा रहेको कुशेश्वर महादेव, रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवी दर्शन गरेर शैलुङ पुग्न सकिन्छ । बसाइ अझ लम्ब्याउन चाहनेले सोही यात्रामा दोलखाको भीमेश्वर र कालिञ्चोकसम्मको यात्रा गर्न सक्छन् । यसो गर्दा काठमाडौंबाट जानेले बढीमा तीन दिन छुट्ट्याउनु पर्छ ।  

sailung -21690440757.jpg

प्रकृतिको वरदान शैलुङ एक पटक पुग्ने पर्ने गन्तव्य हो । शैलुङको डाँडामा चरिरहेको चौँरी र त्यहाँको वातावरणले एक पटक सबैको मन पुलकित बनाउँछ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १३:०१
Weather Update