
काठमाडौं— करिब सय किलो सुन त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट पास भएको विषयलाई लिएर राजश्व अनुसन्धान विभागले छानविन थालेको छ ।
भन्सार विभागको एक टोली अहिले त्रिभुवन विमानस्थल भन्सार कार्यालय पुगेको छ । राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बुधबार बरामद गरेसँगै विभागले अनुसन्धानका लागि टोली खटाएको हो । अहिले विभागको टोली त्रिवि भन्सार कार्यालयमा अनुसन्धानमा व्यस्त छ ।
यस अघि बुधबार जाँचपास गर्ने क्रममा कार्यालयका शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । करिब एक क्विन्टल सुन बरामद प्रकरणमा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ ।
यो पनि पढ्नुहोस
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका– ३ का ५३ वर्षीय रामकुमार भुजेल, २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ का ४९ वर्षीय हर्कराज राई र भारतका ५३ छिरिङ थुप्नेन पक्राउ परेका हुन् ।
यो पनि पढ्नुहोस
दिलिप भुजेल सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक हुन भने सुन पास गराउन सहयोग गर्ने रामकुमार भुजेल दिलिपका मामा हुन् । हर्कराज राई कम्पनी स्थापना गर्न सहयोग गर्ने व्यक्ति हुन् । छिरिङ तिब्बतियन मूलका भारतीय नागरिक हुन् ।
यस्तै सुन बोक्ने ट्याक्सी चालक र अन्य दुई भन्सार एजेण्ट पनि पक्राउ परेका छन् । सुन पक्राउ परेको विषयमा विभाग सहित प्रहरीले अनुसन्धान तीब्र पारेको छ । यता पक्राउ परेको सुनको परिणाम नेपाल राष्ट्र बैंकमा जोखिँदै छ ।