
काठमाडौं— एक सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले झण्डै हालसम्म ६ जनालाई पक्राउ गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट सुन बोकेको बा। २ ज २३२४ नम्बरको ट्याक्सीलाई विभागको टोलीले बुधबार साँझ ६ बजे नियन्त्रणमा लिएको थियो ।
उक्त ट्याक्सीमा तस्करी गरि ल्याइएको सुन थियो । मोटरसाइकल र स्कुटरको पार्टसमा लुकाएर सुन तस्करी भएको हो ।
सुन ओसारपसारमा संलग्न रहेको आरोपमा विभागले दोलखा मेलुङ गाउँपालिका— ३ घर भई काठमाडौं स्वयम्भू बस्ने वर्ष ५३ को रामकुमार भुजेल र साँखु बस्ने वर्ष २१ को दीलिप भुजेल तथा भोजपुरको अरुण गाउँपालिका— ४ भई बूढानीलकण्ठ बस्ने वर्ष ४९ को हर्कराज राई र भारत घर भई हाल पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ को थाप्तेन छिरिङलाई नियन्त्रणमा लिएको छ। अन्य २ जनाको नाम भने खुलेको छैन ।
आयातकर्ता कम्पनी रेडी ट्रेडर्सले उक्त सुन मोटरसाइकल र स्कुटरको पार्टसमा हालेर कार्गो गरी ल्याएको हो । उक्त सुन भन्सार जाँचपास भएर बाहिरिएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।