
काठमाडौं— निवर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक कार्यक्रममा ‘संघीय शिक्षा ऐन जारी हुनै लाग्यो’ भन्थे । उनी बिदा भएर नयाँ शिक्षा मन्त्रीको रूपमा आएका अशोक कुमार राईले पनि पौडेलकै भनाइ दोहोर्याएका छन् । बोलीको ठेगान छैन ।
जनतालाई सही सूचना उनीहरुले दिँदैनन् । केही दिनअघि मन्त्री राईले ‘शिक्षा ऐन संसदमा पुगेको छ’ भनेका थिए । बुधबार बोली फेर्दै ‘मन्त्रिपरिषदमा विचारधीन छ’ पो भन्छन् । कहिले संसदीय समितिमा छ पनि भन्छन् ।
प्रधानमन्त्री, मन्त्री, नेताका बोलीले संघीय शिक्षा ऐन तत्काल आउने छाँटकाँट देखिन्न । मन्त्री राईले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा संघीय ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको जानकारी दिए ।
उनले ऐन, कानुन तर्जुमा गर्दा कानुन, न्याय तथा संसदीय मन्त्रालय र अर्थ मन्त्रालयबाट छिटो परामर्श प्राप्त हुन नसकिरहेको स्थिति अन्त्यका लागि नीतिगत निर्णय गर्ने सरकारको तयारी भएको जानकारी दिए ।
उनले प्रधानमन्त्री र विभागीय मन्त्रीले चाहँदा पनि कानुनका फाइल घुमिरहने प्रवृत्तिबाटमाथि उठ्नका लागि ठोस निर्णय गर्न आवश्यक रहेको बताए ।