
सुर्खेत— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन चाँडै संसद्बाट पारित गर्ने वचन दिएको बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको शिक्षाको अवस्था विषयक कार्यक्रममा सचिव सुवेदीले सो कुरा बताएका हुन् ।
उनले संघीय शिक्षा ऐन तयारी भएको र अब पारित हुने भन्दै त्यसपछि शिक्षालाई सवल बनाउने गरी योजना बनाउन सहज हुने विश्वास व्यक्त गरे ।
उनले भने,‘अहिलेसम्म तीन तहका सरकारबीचमा देखिएका ‘ग्याप’ हरू अब छिट्टै अन्त्य हुन्छ । हामीले संघीय शिक्षा ऐन तयार पारिसकेका छौँ । प्रधानमन्त्रीले पनि चाँडै पारित गर्ने वचन दिनुभएको छ ।’
सचिव रामकृष्ण सुवेदीले आफ्नो–आफ्नो क्षेत्रबाट सुधार गर्न सके शिक्षामा सुधार हुने बताए ।