
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्मा पेस गर्ने बताएका छन् ।
गत असार ४ गते मन्त्रिपरिषद्मा पेस गरिएको सो विधेयक त्यहाँबाट स्वीकृति प्राप्त हुने बित्तिकै संसद्मा पेस गर्ने उनको भनाइ छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राईले सो विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दाबी समेत गरे ।
उनले भने, ‘संघीय शिक्षा ऐन कहिले आउँछ सदन भनेर धेरै माननीयज्यूहरूले जिज्ञासा राख्नु भएको छ । मैले यस बारेमा पनि यहाँहरूलाई निवेदन गरिसकेको छु । असार ४ गते त्यो मन्त्रिपरिषद्मा दर्ता भइसकेको छ । आज १२ गते हो । मलाई लाग्छ आजको क्याबिनेटमा त्यो आइसकेको होला । र, मन्त्रिपरिषदले अनुमति दिनेबित्तिकै संसद्मा त्यो विधेयक दर्ता हुने कुरा माननीयजीहरूलाई निवेदन गर्न चाहन्छु । र, त्यो ऐन बन्ने बित्तिकै, त्यो विधेयक संसद्ले पारित गर्ने बित्तिकै विद्यालय शिक्षा क्षेत्रमा दातृ निकायहरूले पनि गुणस्तर सुधारका निम्ति पर्याप्त सहयोग गर्न सक्ने जानकारी चाहिँ भेटवार्ताहरूमा दिने गरेका छन् । दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय सुधारका धेरै काम यो ऐनले पूरा गर्नेछ ।’