
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बिहीबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
असार २८ गते बिहीबार सामाजिक, आर्थिक, सुरक्षा अपराध, कानुन, राजनीतिक विषयका समाचार मुख्य बनेका छन् । राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर सम्बिन्धित मन्त्रीले दिए । वर्षासँगै बाढीपहिरो, मन्त्रिपरिषद्का विभिन्न निर्णयहरू, संघीय संसद्का दुवै सदनबाट बजेट पारित समाचारहरू बिहीबार मुख्य मुख्य बने । त्यसैगरी ललिता निवास सरकारी जग्गा प्रकरणको अनुसन्धान, भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ, विभिन्न नेता तथा मन्त्रीहरूको अभिव्यक्ति पनि मुख्य समाचार बनेका छन् । यी बाहेक सांसद डा.तोसिमा कार्कीको अभिव्यक्तिलगायतका विषय पनि सामाजिक सञ्जाल तथा मिडियामा चर्चामा रह्यो ।
000
नेपालको महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १—१ गोलको बराबरीमा रोकेको छ । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै नेपाललाई सम्भावित पराजयबाट जोगाएकी थिइन् । बंगलादेशमा बिहीबार पहिलो मैत्रीपूर्ण खेल भएको हो । खेलको ६५औं मिनेटमा सविना खातुनको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । पराजयतर्फ उन्मुख देखिएको नेपाली टोलीलाई अन्तिम समयमा भण्डारीले राहत दिएकी थिइन् । उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ । भण्डारी लामो समयपछि मैदानमा फर्किएकी हुन् ।
यो पनि पढ्नुहोस
000
राष्ट्रिय सभाले ‘विद्युतीय व्यापार विधेयक-२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो विधेयक संसदीय समितिमार्फत व्यापक छलफल गरी परिस्कृत विधेयकका रूपमा निर्माण गर्न सांसदहरुसँग आग्रह गरे । ‘यो विधेयक यथास्थितिमा पारित हुन गइरहेको छैन’, मन्त्री रिजालले भने, ‘संसदीय समितिमा पठाएर विस्तृत छलफल गराएर आएको परिस्कृत विधेयकलाई दुवै सदनबाट पारित गर्ने गरी हामीले कार्यक्रम राखेका छौं ।’ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यले राष्ट्रिय सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराए । राष्ट्रिय सभाको अर्को बैठक यही असार २९ गते बिहान ११:१६ बजे बस्नेछ ।
000
अर्थमन्त्री डा.प्रकाशशरण महतले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको बताएका छन् । कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उनले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक-२०८० अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा उनले विभिन्न स्वरुपमा बेरुजु रहने भएकाले त्यो सबै दुरुपयोग भयो भन्नु गलत रहेको बताए । आर्थिक अराजकता नियन्त्रणका लागि आफू पूर्णरुपमा लागिपरेको बताए । मुलुकभित्र अत्यावश्यक कामका लागि आवश्यक रकम जोहो गर्न तथा अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोषमा रकम राखिएको जानकारी दिए ।
यो पनि पढ्नुहोस
000
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किराँतीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभइ राष्ट्रिय आवश्यकताको विषय रहेको बताएका हुन् । ‘दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरु निर्माण भएका छन् । तर त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो,’ उनले भने । उनले दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको बताए ।
000
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार सचिव राउतका हकमा उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । ‘यसमा के–कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु,’आदेशमा भनिएको छ । अदालतले आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिन र यसपछिको सुनुवाइका लागि नियमानुसार पेस गर्न अदालतले भनेको छ ।
000
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सरकारले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) प्रत्येक सामुदायिक विद्यालयमा १/१ जना थप गर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि सांसद उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले १—१ जना विद्यालय सहयोगी कर्मचारी पनि प्रत्येक माध्यमिक विद्यालयमा थप गर्ने बताएका छन् । मन्त्री राईले ३६ हजार कर्मचारी व्यवस्थापन गर्न एकमुष्ट अनुदान उपलब्ध गराएको बताएका छन् । शिक्षक—कर्मचारीका समस्या समाधानका लागि वार्ता टोली गठन गरी काम अघि बढाइएको उनको भनाइ छ ।
000
सरकारले काभ्रेको बाहुनडाँडामा अत्याधुनिक चलचित्र स्टुडिओ बनाउन अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का विभिन्न तीनवटा बैठकको निर्णय सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडिओ निमार्ण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिइन् । उनले भनिन्, ‘काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तरगत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल २.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।’ त्यस्तै, सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा नेपालको खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर जिल्लाको सानो थिमीमा तोक्ने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० दुई वर्षमा वार्षिक रूपमा न्यूनतम १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आउँदो २०८०/८१ को लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा फुकाउने निर्णय गरेको छ । त्यस्तै, मन्त्री शर्माले सरकारले पर्यटन मन्त्रालयको प्रस्तावमा पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै वन्यजन्तुबाट क्षति भएबापत् राहत वितरण गर्ने निर्देशिका २०८० स्विकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।
000
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरे ।
000
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले अहिले पार्टी विस्तारलगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रित रहेको बताए । ‘सरकारमा सहभागी हुने योजना छैन । पार्टीभित्र पनि कुनै छलफल भएको छैन । तर, सरकारको स्थायित्वको पक्षमा भने रास्वपा छ’,उनले भने ।
यो पनि पढ्नुहोस