
असार २१ गते शुक्रबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिकै सेरोफेरोमा देशको राजनीति केन्द्रित रह्यो । प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सोमबार दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’दाहालको भनाइ थियो । प्रधानमन्त्रीको उक्त भनाइलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा अवरुद्ध गर्यो भने प्रतिनिधि सभा बैठक बस्दै नबसी सूचना टाँस गरेर आइतबारलाई सारिएको छ । राष्ट्रिय सभा बैठक पनि आइतबार नै बस्नेछ । त्यसैगरी शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सपथ लिए । कोशी सरकारविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा रित दर्ता गरेको छ । आइतबार पेशी तोकिएको छ । यी बाहेक विभिन्न नेताहरूको अभिव्यक्ति, इमर्जिङ नेसन्स कप क्रिकेटको लागि नेपाली टिमको घोषणा, देशभर धान रोपाइँ, ‘लम्पी स्किन’ रोग,विद्यालय कर्मचारीकाे रिले अनशनलगायतका समाचार मुख्य मुख्य बनेको छ ।
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शुक्रबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
०००
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए । उनले स्रोतसाधन कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताए ।
०००
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अपराध नभएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्रीले भावनात्मक र सामान्य व्यक्तिप्रति राखेको सद्भाव राजनीतिक विषय बन्न नसक्ने बताइन् । मन्त्री शर्माले प्रतिपक्ष दलले नियोजित रुपमा प्रधानमन्त्रीलाई स्पष्टीकरण दिनसमेत अवसर नदिकन राजीनामा मागेको बताइन् ।
०००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे । उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए ।
०००
जिम्बावे भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ । शुक्रबार बिहान नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए ।
०००
प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी, पहिरोबाट मानवीय क्षति पुगेका र घरबारबिहीन बनेका परिवारलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बाढी, पहिरोबाट पीडितहरुको निजी निवास पुनःर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई सचेत गराए ।
०००
राष्ट्रिय सभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ । शुक्रबार पनि बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने गरी स्थगित गरिएको हो ।
०००
१४ बुँदे प्रतिबद्धता गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि बसेको पार्टी जिल्ला सभापतिहरुको बैठक १४ बुँदे आपसी प्रतिबद्धता व्यक्त गर्दै शुक्रबार सम्पन्न भएको हो । बैठकमा जिल्ला सभापतिहरुले पार्टी संगठनको गतिशीलतामा जोड दिएका छन् ।
०००
वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । उनीहरुले पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बुढाबुढीहरुको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको बताए । सांसदहरुले सरकारले सधँै वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने बताए । उनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई देशभित्रै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भिर हुनुपर्ने बताए ।