News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

असार २१ गते बिहीबार राजनीतिक, सामाजिक, शिक्षाका समाचारहरू मुख्य मुख्य बनेका छन् । बिहीबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले चर्चा पायो । प्रधानमन्त्रीको अभिव्यक्तिलाई मुख्य कारण बनाउँदै नेकपा एमालेले बिहीबार पनि राष्ट्रिय सभा अवरुद्ध गर्‍यो । एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीको भनाइलाई लिएर मुख्य प्रतिपक्षी दल नेकपा एमालेले असंसदीय चरित्र देखाएको बताएको छ । बिहीबार कोशी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसैगरी बिहीबार राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यी समाचार बाहेक मौद्रिक नीति, बाढीपहिरो, सुरक्षाअपराधका समाचार मुख्य मुख्य बने । त्यसैगरी कतिपय नेताहरूका भनाइले पनि बिहीबार सञ्चारमाध्यममा मुख्य स्थान पाएका छन् ।

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बिहीबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

०००

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहलाई रासयनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले अहिलेको सिजनमा समयमा नै मल दिन नसके किसानप्रति सरकारले न्याय गरेको नठहरिने बताए । सरकारले बजेट वा अन्य कुनै पनि बहानामा मल कृषकलाई दिन नसक्नु समग्र कषि प्रणालीकै लागि राम्रो नहुने बताए ।

०००

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव बताए ।

०००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भन्दै मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताए ।

यो पनि पढ्नुहोस

०००

नेकपा एमालेका उपाध्यक्ष एवम् सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले चाहिने बेलामा मल आपूर्ति नगर्ने र त्यसको असर कृषकलाई पार्नु नहुने बताए ।

०००

पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन् । प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको भन्दै उनले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन् ।

०००

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले प्रधानमन्त्री पष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महसुस गरेको बताए ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासयनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले उनले रासयनिक मलले गर्दा जल, जमीन र वायुलाई संक्रमण गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको बताए ।

०००

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रप्रसाद मल्लले अर्थतन्त्र संकुचन हुनुको प्रमुख कारण जोखिम भार १५० प्रतिशत कायम रहनु रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र चलायमानको लागि यो बेस रेटमा लिने प्रिमियम पक्षपातपूर्ण रहेको बताए ।

०००

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्दीय कार्यालयमा सुरु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ । बैठकमा पार्टी महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं कांग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु सहभागी थिए ।

०००

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक भएको हो । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने बताएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याएपनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष गत वर्षको तुलनामा राम्रो नतिजा आएको छ ।

०००

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नको लागि आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रममा बोल्दै उनले अवधि अनुसारको मुद्दति रेट बनाएर वा फक्स डिपोजिट र सेभिङको ५ प्रतिशतको फरक हटाएर भएपनि अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिए ।

०००

सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निस्कर्ष गठबन्धनको रहेको बताए ।

०००

सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । असार १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार मन्त्री रेखा शर्माले सरकारले भन्सार तथा लजिस्ट्रि सुधार कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलयितपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताइन् ।

०००

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत जानुभएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा आँच पुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २०:५५
Weather Update