
असार १७ गते आइतबार राजनीतिक, सामाजिक, सुरक्षा अपाराधलगायत विषयका समाचार मुख्य मुख्य बने । प्रतिनिधि सभामा आर्थिक विधेयक, २०८० मा सांसदहरुले विभिन्न प्रश्नहरु उठाए । त्यसको अर्थमन्त्री डा.प्रकाशशरण महतले उत्तर दिए । त्यसैगरी बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको सैद्धान्तिक छलफल भयो । सांसदहरूले उठाएका प्रश्नहरूको कानुन मन्त्री धनराज गुरुङले जवाफ दिए । त्यसैगरी प्रतिनिधि सभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयक बहुमतले पारित गरेको छ । यी बाहेक कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध पछि खुला, ललिता निवास सार्वजनिक जग्गा प्रकरणका थप ३ जना पक्राउ, विश्वकप छनोट क्रिकेटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध नेपालको जित र केही राजनीतिक दलका कार्यक्रम, नेताहरूको अभिव्यक्ति आइतबार मुख्य समाचार बनेका छन् ।
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज आइतबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
०००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । आइतवार भक्तपुरमा आयोजित नारायण विलास जोशीको ३४औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए । उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरिसकेको बताए ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् । आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले पार्टी प्रवेश गर्नेहरु धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए । उनले केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताए ।
०००
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायण विलास जोशीको ३४औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध, समानता, अवसर, रोजगारीको हिसावले शीर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
०००
काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गालाई तारबार गर्ने भएको छ । आइतबार ललितानिवासमा पुगेको महानगर प्रहरीको टोलीले ललिता निवासमा बनेका अस्थायी वा अनधिकृत संरचना हटाउन र उक्त क्षेत्रलाई तारबारले घेर्ने बताएको हो । महानगरको टोलीले ललिता निवास परिसरमा पुगेर ललिता निवासमा संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेर्ने बताएको हो । काठमाडौं महानगरपाकिलाको स्वीकृतिबिना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन महानगरपपालिकाले आग्रह गरेको छ । दुई दिनभित्रमा अस्थायी र अनाधिकृत संरचना नहटाए महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ ।
०००
प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्विकृत भएको हो । त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
०००
पाँच दिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन् । उनले त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलन बोल्दै चीन भ्रमण फलदायी भएको बताए । भ्रमणका क्रममा चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास,व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्म छलफल भएको बताए ।
०००
महालेखापरीक्षकको कार्यालयले स्थानीय तहले कार्यविधि नबनाइकन सेवा प्रवाह गरेको बताएको छ । आइतबार ललितपुरमा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरले स्थानीय तहबाट गर्नुपर्ने सुधारमा ऐन, कानुनको प्रभावकारी कार्यान्वयन, सोझै खरिद भएका विषयहरुमा सुधार र स्थानीय तह आफैंले गर्नुपर्ने कामहरुमा पनि विभिन्न साझेदार वा स्टेक होल्डरमार्फत गर्दै आएको कुरालाई सुधार गर्नुपर्ने बताइन् ।